निरु चौधरी / बेलाैरी, कञ्चनपुर –
कञ्चनपुरको बेलडाँडीमा अल स्टार युवा क्लबले आयोजना गरेको आठौँ बेलडाँडी खुला नकआउट फुटबल प्रतियोगितामा झिलमिला युवा समाजले लगातार तेस्रो पटक उपाधि हात पार्दै ऐतिहासिक सफलता हासिल गरेको छ ।
भदौ ७ गतेदेखि सुरु भएको प्रतियोगितामा शनिबार साँझ सम्पन्न फाइनल खेलमा झिलमिला युवा समाज ‘बी’ ले दोधारा केएफसीलाई ०–२ गोल अन्तरले पराजित गर्दै लगातार तीन संस्करणमा उपाधी जित्ने दुर्लभ उपलब्धि हासिल गरेको हो ।
दर्शकले भरिएको मैदानमा पहिलो हाफमै गोल गर्दै खेललाई आफ्नो पक्षमा मोडेको झिलमिलाले दोस्रो हाफमा थपिएको गोलसँगै जित सुनिश्चित गर्यो ।
अन्तिम सिटी बज्नेबित्तिकै मैदान र वरपर हर्ष उल्लासका आवाज गुन्जिए, झिलमिलाका समर्थकहरू झुमे र गाउँकै शान बढाएको अनुभूति साटासाट भयो ।
निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको झिलमिला युवा समाजले यसअघि पनि दुई संस्करणमा उपाधि जितिसकेको थियो र यसपालि प्राप्त गरेको तेस्रो उपाधिले टोलीलाई सुदूरपश्चिममै एक प्रतिष्ठित नामको रूपमा स्थापित गरिदिएको छ ।
विजेता बनेको झिलमिला युवा समाज ‘बी’ ले नगद ८२ हजार रुपैयाँ, आकर्षक ट्रफी र मेडल हात पार्दा उपविजेता बनेको दोधारा केएफसीले ४५ हजार रुपैयाँसहित ट्रफीमा चित्त बुझायो ।
प्रतियोगिता केवल उपाधिको प्रतिस्पर्धा मात्र रहेन, यसले स्थानीय युवामा आत्मविश्वास भर्ने र खेलकुदलाई गाउँकै गौरवसँग जोड्ने अवसर पनि बनायो ।
आयोजक अल स्टार युवा क्लबका अध्यक्ष लोकबहादुर बलायरले ग्रामीण भेगमै प्रतिभावान खेलाडी उत्पादन गरी राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले प्रतियोगिता निरन्तर गर्दै आएको बताए ।
उनका अनुसार खेलकुदले युवालाई अनुशासन र आत्मबल सिकाउने मात्र होइन, गाउँलाई देशव्यापी पहिचान दिलाउने सेतुको काम पनि गर्छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई विशेष सम्मान गरिएको थियो।
झिलमिलाका कुम्ब देउवा उत्कृष्ट गोलरक्षक, दोधाराका दिपेन सिंह उत्कृष्ट डिफेन्डर, संगम सरु मगर उत्कृष्ट मिडफिल्डर, झिलमिलाका धिरेन्द्र बहादुर शाह सर्वाधिक गोलकर्ता, अल स्टार युवा क्लबका उमेश खडायत उदयमान खेलाडी र झिलमिलाका ज्ञानेन्द्र जोशी उत्कृष्ट खेलाडी घोषित भए ।
अखिल नेपाल फुटबल संघ (ANFA)का मान्यता प्राप्त रेफ्री मानबहादुर तामाङ, नारायण प्रसाद जोशी र विकास सिंह महताले प्रतियोगिता सञ्चालन गरेका थिए।
गौंरा पर्व संगै गाउँका टोलदेखि परिवारका सदस्यसम्म झिलमिलाको जितमा गर्वानुभूति गरिरहेका छन् ।
लगातार तीन संस्करणमा उपाधि जित्नु केवल खेलकुदको गौरव मात्र नभई झिलमिला गाउँका युवामा क्षमता, लगनशीलता र भविष्यप्रतिको दृढताको प्रमाण पनि बनेको छ।
फुटबल मैदानमा पसिनासँगै बगेको उनीहरूको आत्मविश्वासले अझै ठूला उपलब्धिहरू हासिल गर्ने संकेत दिएको छ, र यही कारण – कम छैनन् झिलमिलाका युवा ।,