गएरातिदेखिकाे अविरल वर्षाका कारण महाकाली नदीमा पानीकाे बहाब उच्च भएपछि शारदा ब्यारेजमा सवारी आवागमनमा राेक लगाइएको छ ।
साेमबार बिहान नदीमा पानीकाे बहाब बढेर एक लाख ५१ हजार क्युुसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमन राेक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बाेहराले बताए ।
उनकाअनुसार शारदा ब्यारेजमा अहिले दुई पाङ्ग्रे सवारीसाधन मात्र चलिरहेका छन् । पानीकाे बहाब एक लाख क्युसेक नाघेपछि कञ्चनपुरलाई भारतकाे वनबासासँग जाेड्ने शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन बन्द गरिदै आएकाे छ ।
यसैबीच लगातारकाे वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्रमा डुबानमा परेका छन् । गएरातिदेखिकाे अविरल वर्षाले जाेगबुढा नदीकाे पानी बस्तिमा पस्दा दाेधाराचाँदनी नगरपालिका- ८ काे रामपुरे टापुस्थित जर्गाटाेलका २५ घर डुबानमा परेका छन् ।
डीएसपी बाेहराकाअनुसार घर डुबानमा परेपछि ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ ।
वडा नम्बर ११ मा पनि पाँच वटा घरमा पानी पसेकाे छ । अहिले प्रहरी चाैकि बाबाथान र इलाका प्रहरी कार्यालय दाेधाराचाँदनीकाे टाेली त्यहाँ पुगेर उद्दारकाे काम गरिरहेकाे छ ।