कञ्चनपुर -
दसैँ, तिहार र छठलाई लक्षित गर्दै सुदूरपश्चिमका विभिन्न स्थानमा सोमबार (आज) देखि सुपथ मूल्यका पसल सञ्चालन हुने भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २८ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम्पनीका प्रादेशिक प्रमुख दीपक थापाका अनुसार सुपथ मूल्य पसलमार्फत चामल र चिनी प्रतिकिलो पाँच रुपैयाँ छुटमा उपलब्ध हुनेछन् । धनगढी, महेन्द्रनगर, खलङ्गा, मङ्गलसेन, मार्तडी, दिपायललगायतका स्थानबाट खाद्य व्यवस्था कम्पनीका पसल सञ्चालन हुनेछन् ।
त्यस्तै, साल्ट ट्रेडिङका प्रमुख तेजबहादुर कुँवरले नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ तथा तेल, चिउरा, मैदा, पीठो र दालमा सात रुपैयाँसम्म छुट दिइने जानकारी दिएका छन् । डडेलधुरा, धनगढी, टीकापुर, अत्तरिया, बेलौरी, महेन्द्रनगर, दिपायल र पाटनमा साल्ट ट्रेडिङका सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।