पल्लव राज भट्ट/ कञ्चनपुर –
यहीँ भाद्र २३ र २४ गते GenZ काे शान्तिपूर्ण प्रदर्शनका क्रममा घुसपैठ भई देशमा ठूलो जनधनको क्षति भएको नेकपा(एमाले) कञ्चनपुरकाे ठहर छ।
सामाजिक सञ्जालकाे स्वतन्त्र प्रयोग, भ्रष्टाचारको निष्पक्ष छानबिन र कारबाही, स्थिर सरकार तथा सुशासनको मागसहित सुरु गरिएको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन पुगेपछि हालसम्म ७२ जनाको मृत्यु पुष्टि भएको छ।
एमाले जिल्ला कमिटी कञ्चनपुरले आइतबार एक प्रेस वक्तव्य जारी गरी मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेको छ।,
भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राज्यले नि:शुल्क औषधी उपचारको व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ।
आन्दोलनको आवरणमा कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का जिल्ला कार्यालयमा आगजनी गरी ध्वस्त पारिनुका साथै जिल्ला प्रशासन कार्यालय, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकाका भवन तथा विभिन्न वडा कार्यालयमा तोडफोड गरिएको छ।
एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज निरु देवी पाल, प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावल, पूर्व जिल्ला अध्यक्ष तथा भिमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र बिष्टलगायत नेताको आवासमा आगजनी गरी नष्ट गरिएको र कांग्रेस तथा अन्य दलका शीर्ष नेताहरूका घरमा समेत आक्रमण भएको एमाले जिल्ला कमिटी अध्यक्ष लक्ष्मी बुढा र सचिव पल्लव राज भट्टद्वारा संयुक्त हस्ताक्षरित वक्तव्यमा उल्लेख छ।
त्यस्तै, २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएका सिंहदरबार, संसद भवन, राष्ट्रपति भवनसहित विभिन्न सरकारी संरचना, सार्वजनिक सम्पत्ति तथा निजी घरजग्गामा खरबौंको क्षति पुगेको, जेल तोडफोड भई कैदीबन्दी फरार भएका, उद्योगपतिहरूको निजी सम्पत्ति र व्यापारिक केन्द्रमा आगजनी तथा लुटपाट भएका घटनाले मुलुकमा अशान्तिकाे अवस्था सिर्जना भएको एमालेको ठहर छ ।
यस्ता आपराधिक गतिविधिमा संलग्नलाई तत्काल पहिचान गरी कानूनी कठघरामा ल्याउन, शान्ति–सुरक्षाको प्रत्याभूति गर्न र मुलुकमा व्याप्त भ्रष्टाचारको निष्पक्ष छानबिनका लागि शक्तिशाली उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग हस्ताक्षरित वक्तव्य मार्फत सार्वजनिक गरिएको छ ।
प्रतिनिधि सभा विघटन भई अन्तरिम सरकार गठन भएको वर्तमान अवस्थालाई संवैधानिक संकटतर्फ देश अघि बढेको संकेत दिँदै एमालेले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
यतिमात्र नभई एमाले जिल्ला कमिटीले सम्पूर्ण नेता कार्यकर्तालाई संयमता र धैर्यतासहित विचलित नभई एकताबद्ध भएर जन सेवामा सक्रिय रहन समेत आग्रह गरेको छ।