अयोध्या, (भारत) —
भगवान् श्रीरामको पावन जन्मभूमि अयोध्यामा यस वर्षको दीपोत्सव तथा रामलीला महोत्सवमा नेपाली रामभक्त कलाकारहरूले आफ्नो श्रद्धा, भक्ति र अभिनयले दर्शकको मन छोएका छन् ।
धार्मिक आस्था, सांस्कृतिक एकता र रामभक्तिको सुगन्धले भरिएको मञ्चमा नेपाली टोलीको प्रस्तुति अविस्मरणीय बनेको छ ।
सिंगो नेपालकाे प्रतिनिधित्व गर्दै कञ्चनपुरको बेलौरी रामलीला समितिबाट सहभागी ३० सदस्यीय टोलीले आइतबार ‘लक्ष्मण मुर्छा तथा शक्ति ’ प्रसंग मञ्चन गर्दै सम्पूर्ण अयोध्या नगरीलाई भावनाको तरंगमा डुबाएका थिए ।
श्रीराम, लक्ष्मण र हनुमानबीचको संवेदनशील प्रसंगलाई नेपाली कलाकारहरूले यथार्थ र भावनात्मक ढंगले उतारेपछि दर्शकहरूका आँखा रसाए ।
कार्यक्रमको संयोजन गर्नुभएका समितिका संयोजक दिनेश कुँवरले उत्तर प्रदेश सरकार तथा सांस्कृतिक समितिको विशेष आमन्त्रणमा नेपालबाट टोली अयोध्या पुगेको बताउनुभयो ।
उहाँका अनुसार नेपाली कलाकारहरूको प्रस्तुति देखेर भारतका दर्शकहरूले निरन्तर ताली बजाउँदै जयश्रीरामको उद्घोष गरेका थिए ।
“रामलीला केवल अभिनय होइन, यो हाम्रो आस्था र भक्ति हो,” कुँवरले भन्नुभयो, “अयोध्या जस्तो पवित्र भूमि र योगी आदित्यनाथजस्तो धर्मनिष्ठ व्यक्ति समक्ष हाम्रो प्रस्तुति दिन पाउनु हामी नेपालीका लागि गर्वको विषय हो।”
दीपोत्सवको भव्य उद्घाटन उत्तर प्रदेशका मुख्यमन्त्री योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रम स्थल र राममन्दिर परिसरमा उज्यालोका दीपहरू र जय श्रीराम नामले झक-झक्याइएको थियो ।
नेपाल सँगै रसिया, श्रीलंका, थाइल्यान्ड र इन्डोनेसियाका टोलीहरूले पनि रामायणका विभिन्न अध्यायहरू मञ्चन गरेका थिए । तर नेपाली टोलीको भक्ति र अभिनयले विशेष प्रभाव पारेको उपस्थितहरूले बताएका छन् ।
कार्यक्रममा सहभागिता बेलौरी रामलीला समिति उप–संयोजक राजेन्द्र चन्दका अनुसार, “अयोध्या मञ्चमा हाम्रो प्रस्तुति केवल नाटक होइन, श्रीरामप्रति समर्पणको भाव थियो।
दर्शकहरूको श्रद्धा देख्दा हामी आफैं अभिभूत भयौं चन्दले भने” - हामीले अन्य व्यवस्थापन र आवतजावत खाना बस्न केही खर्च गर्नु परेन, सबै उनीहरूकाे स्वागत सत्कार थियोे।,
कार्यक्रम सम्पन्न भएपछि आयोजक समितिले नेपाली टोलीलाई विशेष सम्मान समेत व्यक्त गरेको थियो । टोली सोमबार साँझ सकुशल बेलौरी फर्किएको छ उनलेे भने ।,
यता स्थानीयहरूका अनुसार यस पटकको सहभागिताले नेपाल–भारतबीचको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।
रामलीलाको माध्यमबाट फैलिएको यो साझा भक्ति र सभ्यताको सेतु भविष्यमा पनि दुई देशबीचको आत्मीय सम्बन्धको प्रतीक बन्ने विश्वास लिइएको छ ।