भारतको बिहारमा आज भइरहेको दोस्रो चरणको विधानसभा चुनावलाई लक्षित गरी नेपाल–भारत सीमा नाका बन्द गरिएको छ । मधेश प्रदेशका महोत्तरी, धनुषा, सर्लाही, सप्तरी तथा रौतहटलगायत भारतसँग जोडिएका पूर्वी सिमानाका बन्द भएका हुन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेलका अनुसार भारतको बिहार राज्यमा विधानसभा चुनावका कारण सप्तरीसँग जोडिएका सीमानाका तीन दिनसम्मका लागि बन्द गरिएको हो । शनिवार रातिदेखि बन्द नाका आजराति १२ बजेपछि खुल्नेछ ।
सीमा बन्द भएसँगै जनकपुरधाम–जयनगर रेल सेवा पनि अस्थायी रूपमा रोकिएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमा बन्द भएका कारण भारतको जयनगरसम्म पुग्ने रेल सेवा स्थगित गरिएको र सीमा खुलेपछि पुनः सेवा शुरु गरिने जनाएको छ ।