एनपीएलमा नयाँ च्याम्पियन पक्का : प्लेअफका चार टोली को–कति बलिया ?

होमपेज / खेलकुद /
एनपीएलमा नयाँ च्याम्पियन पक्का : प्लेअफका चार टोली को–कति बलिया ?
  • रेडियो सुदूर सञ्चार
  • २० मंसिर २०८२ (१ महिना अघि)
  • १८३

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा प्लेअफ पुग्ने चारै टोलीको टुंगो लागेको छ । बिहीबार सम्पन्न खेलमा जनकपुरविरुद्ध जित निकाल्दै लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बन्यो । यसअघि नै लिग चरणको अन्त्यतिर आइपुग्दा सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान पक्का गरिसकेका थिए । सुदूरपश्चिमबाहेक अन्य टोलीले पहिलोपटक प्लेअफमा स्थान बनाएका हुन् । यसैगरी, अब लिग चरणका तीन खेलमात्र बाँकी रहेको अवस्थामा साविक विजेता जनकपुर बोल्ट्ससहित चितवन राइनोज, पोखरा एभेन्जर्स र कर्णाली याक्स बाहिरिएका छन् । जनकपुर प्लेअफमा नपुगेसँगै एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भइसकेको छ । सुदूरपश्चिमले शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ ।

अब शनिबार हुने सुदूरपश्चिम र विराटनगरबीचको खेलपछि दोस्रो स्थानमा रहेर सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो लाग्नेछ । विराटनगरले सुदूरपश्चिमलाई ठूलो अन्तरमा पराजित गरेमा मात्र दोस्रो स्थानमा पुग्न सक्छ । अन्यथा काठमाण्डू नै दोस्रो स्थानमा रहनेछ ।

यस्तो छ प्ले अफमा पुग्ने टोलीको प्रदर्शन

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो संस्करण प्लेअफको यात्रा तय गरेको छ । त्यो पनि शीर्ष स्थानमा रहेर । गत संस्करणमा उपविजेता बनेको सुदूरपश्चिमले यसपटक ६ वटै खेलमा जित निकाल्दै १२ अंक जोडेको छ । प्रतियोगितामा अपराजित रहने सुदूरपश्चिम एक्लो टोली हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले काठमाण्डू, पोखरा, कर्णाली, लुम्बिनी, जनकपुर र चितवनलाई पराजित गरेको छ । अब टोलीले विराटनगरको सामना गर्न बाँकी छ ।

काठमाण्डू गोर्खाज

गत संस्करणमा नेट रनरेटका आधारमा पछाडि पर्दा प्लेअफमा पुग्नबाट वञ्चित बनेको काठमाण्डूले यसपटक भने त्यो इच्छा पूरा गरेको छ । टोलीले सात खेल खेल्दा १० अंक जोड्यो । काठमाण्डूले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने सम्भावना पनि छ । तर, त्यसका लागि शनिबार विराटनगरले सुदूरपश्चिमसँग हार व्यहोर्नु पर्ने हुन्छ । करण केसीको कप्तानमा रहेको काठमाण्डूले सुदूरपश्चिम र विराटनगरसँग हार व्यहोर्दा जनकपुर, चितवन, कर्णाली, लुम्बिनी र पोखराविरुद्ध जित निकालेको छ ।

विराटनगर किंग्स

विराटनगर किंग्सले पनि पहिलो पटक प्लेअफको यात्रा तय गरेको हो । टोलीले गत संस्करणमा आठौँ स्थानमा रहेर लिग सक्काएको थियो । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले ६ खेल खेल्दा आठ अंक जोडेको छ । अब टोलीले सुदूरपश्चिमसँग खेल्न बाँकी छ । शनिबार सुदूरपश्चिमलाई हराएमा विरानगरले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना छ । जनकपुर, काठमाण्डू, पोखरा र कर्णालीलाई हराएको विराटनगरले चितवन र लुम्बिनीसँग हार व्यहोरेको छ ।

लुम्बिनी लायन्स

गत संस्करणमा पुछारमा रहेको लुम्बिनीले यस पटक भने प्लेअफको यात्रा तय गरेको छ । सात खेलमा आठ अंक जोडेको लुम्बिनीले इलिमिनेटर खेल्नेछ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले सुदूरपश्चिम, कर्णाली र काठमाण्डूसँग हरा व्यहोर्दा चितवन, पोखरा, जनकपु र विराटनगरलाई हराएको छ ।

अन्तिम अध्यावधिक: २० मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस