उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

होमपेज / कृषि /
उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण
  • रेडियो सुदूर सञ्चार
  • २२ मंसिर २०८२ (१ महिना अघि)
  • ४६१

सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ ।

गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल ३५ रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म किसानले त्यो रकम पाउन सकेका छैनन् ।

किसानले ६ सय ५५ रुपैयाँ लागतमा उखु खेती गर्दा ६ सय २० रुपैयाँ प्रतिक्विन्टल मूल्य पाएको गुनासो गर्दै आएका थिए । तर, सरकारले अहिले पनि पुरानै भाउ निर्धारण गरेको छ ।

९ मंसिरमा कृषिमन्त्री डा. मदन परियारलाई किसानले १३ मंसिरभित्र उखुको मूल्य तोक्न अल्टिमेटम दिएका थिए । सोही अल्टिमेटम लगत्तै किसान र मन्त्रालयबीच वार्ता भएको थियो ।

किसानहरूले गत वर्ष बिक्री गरेको उखुको प्रतिक्विन्टल ३५ रुपैयाँका दरले हुन आउने सम्पूर्ण बक्यौता अनुदान रकम भुक्तानी गर्न माग पनि गरेका छन् ।

सरकारबाट करिब १ लाख किसानले गत वर्षको ७५ करोड ५१ लाख १२ हजार रुपैयाँ अनुदान रकम अझै पाउन बाँकी छ । विगतमा सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले उखु खेतीमा अनुदान दिँदै आएको थियो ।

तर, खर्च अभाव कारण देखाउँदै सरकारले दिँदै आएको अनुदानमा ५० प्रतिशतले कटौती गरेको थियो । किसानले कटौती गरिएको उक्त अनुदान रकम उपलब्ध गराउनुपर्ने माग राख्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

अन्तिम अध्यावधिक: २२ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस