गौरीफन्टामा नेपालीमाथि एसएसबीको मनोमानी, सीमा तनावग्रस्त

होमपेज / मुख्य समाचार / समाचार /
यात्रु माथि धक्का–मुक्का हुँदा समेत नेपाली सुरक्षा मौन
गौरीफन्टामा नेपालीमाथि एसएसबीको मनोमानी, सीमा तनावग्रस्त
  • रेडियो सुदूर सञ्चार
  • २५ मंसिर २०८२ (१ महिना अघि)
  • ४१०

निरु चाैधरी / गाैरीफन्टा, कैलाली — 

बिहीबार दिउँसो भारततर्फ यात्रा गरिरहेका नेपाली नागरिकमाथि कैलालीको गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले अनावश्यक रोकतोक गर्दै अपमानजनक व्यवहार गरेको घटना सार्वजनिक भएको छ।

प्रत्यक्षदर्शीका अनुसार एसएसबीले आधारकार्ड, नागरिकता र अन्य परिचयपत्र देखाउन लगाउने बहाना बनाई यात्रुहरूलाई बारम्बार रोकेर धकेल्दै अपमान गरेको थियो।

एक पीडितले भने, “हामीसँग सबै कागजात पूरा थियो, तर पनि बारम्बार ‘छिटो देखाऊ, फेरि देखाऊ’ भन्दै धम्क्याइयो। कतिपयलाई त याे भएन त्याे भएन भनेर धकेल्दै लाइनबाट हुत्यायाे।, यस्तो व्यवहारले हामीलाई अपमानित महसुस गराएकाे छ।”

एक अर्का पीडितले भने, नाकामा यात्रुहरूलाई शारीरिक रूपमा छोएर धकेलियो र कतिपयलाई लाइनबाट बाहिर पठाइयो, तर नेपाली सुरक्षाकर्मी हेरि मात्ररहेँ। घटनाको समयमा नाकामा खटिएका नेपाल सशस्त्र प्रहरीका जवानहरू मुकदर्शक मात्र बनेको पीडितहरूको आरोप छ।

 “हामीमाथि हातपात भइरहे पनि उनीहरूले केहीपनि शब्द बोलेनन्। यस्तो अवस्थामा सुरक्षा निकायको मौनता गम्भीर प्रश्न उठाउँछ,” पीडितले भने। स्थानीयका अनुसार, नेपाली सुरक्षाकर्मीको निष्क्रियता देखेर एसएसबीका जवानहरू अझ मनोमानी ढङ्गले व्यवहार गर्न थालेका छन्।

गौरीफन्टा नाका खुला सीमा अन्तर्गत पर्ने भएकाले दुवै देशका नागरिकले सहज आवत–जावत गर्ने अधिकार राख्छन्।

तर एसएसबीद्वारा हुने मनोमानी रोकतोक र अपमानजनक व्यवहारले दुवै मुलुकबीचको आपसी विश्वास र खुला सीमाको मर्म कमजोर पार्ने चिन्ता बढाएको स्थानीयले बताएका छन्। पीडित यात्रुहरूले घटना प्रति गहिरो आक्रोश व्यक्त गरेका छन्।

यद्यपि, यस्ता व्यवहारले नेपाल–भारत खुला सीमा व्यवस्थामा सम्मान र आपसी समझदारीमा नकारात्मक असर पार्ने सम्भावना छ। यदि मनोमानी रोकतोक र दुर्व्यवहार जारी रह्यो भने सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धमा पनि असर पर्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।

स्थानीय सरोकारवाला निकायहरूले नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै तत्काल कूटनीतिक पहल गरी सुरक्षाकर्मीबीच समन्वय मजबुत बनाउने र यात्रुहरूको सम्मानजनक आवत–जावत सुनिश्चित गर्न माग गरेका छन्।

उनीहरूले नाकामा यस्ता घटनालाई रोक्न सशस्त्र प्रहरी र एसएसबी बीच नियमित बैठक, निगरानी र स्पष्ट प्रोटोकल लागू गर्न समेत सुझाव दिएका छन्।

घटनापछि यतिबेला गौरीफन्टा नाका क्षेत्रमा तनावको वातावरण सृजना भएको छ।,

अन्तिम अध्यावधिक: २५ मंसिर २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस