चन्द्रिका चाैधरी/ बेलाैरी, कञ्चनपुर -
शनिबार बेलौरीस्थित श्री महाकाली माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह बाेहराकाे सभापतित्व र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री मेघराज खड्काकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्नुहुदैँ प्रमुख अतिथि खड्काले - "विद्यालयले पाँच दशकभन्दा बढी समयदेखि यस क्षेत्रको शैक्षिक विकासमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो।,
यस्तै, उहाँले सामुदायिक विद्यालय सुदृढ नभएसम्म गुणस्तरीय शिक्षा सम्भव नहुने उल्लेख गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रको सुधार, भौतिक पूर्वाधार विकास र शिक्षक क्षमतावृद्धिमा निरन्तर लागिरहेको स्पष्ट पार्नुभयो।,
“महाकाली माध्यमिक विद्यालयजस्ता शैक्षिक संस्थाले उत्पादन गर्ने दक्ष जनशक्ति नै समाज र राष्ट्र निर्माणको आधार हो,” मन्त्री खड्काले भन्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा सुप पूर्व राज्यमन्त्री कुलवीर चौधरीले शिक्षा क्षेत्रमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु बराबर भएको उल्लेख गर्नुभयो।
चाैधरीले विद्यालयको निरन्तर प्रगतिमा अभिभावक, शिक्षक र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै,“सामुदायिक विद्यालयको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व रहेको बताए।,
त्यसैगरी सुदूरपश्चिम ईँटा व्यवसाय महासंघका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी बलदेव सिंह बुडालले विद्यालयले शिक्षा मात्र नभई सामाजिक चेतना विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले समाजसेवी तथा निजी क्षेत्रको तर्फबाट शिक्षा क्षेत्रमा सहयोग गर्न आफू सधैं तत्पर रहेको धारणा व्यक्त गर्नुभयो।
“शिक्षा बिना समाजको दिगो विकास सम्भव छैन, त्यसैले सबैले आ–आफ्नो ठाउँबाट विद्यालयलाई सहयोग गर्नुपर्छ,” बुडालको भनाइ थियो।
यसै अवसरमा बेलौरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्टले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयको सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाए। भट्टले विद्यालय, अभिभावक र स्थानीय तहबीचको समन्वयले मात्र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रमको सभापतित्व गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह बोहराले विद्यालयलाई यहाँसम्म पुर्याउन योगदान गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, दाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो। पूर्व प्रअ समेत रहेका बाेहराले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक संरचना सुदृढीकरणका लागि दीर्घकालीन योजना अघि बढाइएको जानकारी दिनुभयो।
यस्तै उक्त विद्यालयका प्रधानाध्यापक रमेश सिंह भण्डारीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। प्रअ भण्डारीले विद्यार्थीलाई पाठ्यक्रमसँगै व्यवहारिक, नैतिक र सिर्जनात्मक शिक्षामा जोड दिइएको उल्लेख गर्दै अभिभावकको सहयोगले विद्यालयको शैक्षिक स्तर क्रमशः उकासिँदै गएको बताउनुभयो।
वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य, गीत, नाटक तथा विविध एनसीसी प्रतिभा प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालय सहयोगीहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमले विद्यालय–अभिभावक–समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै सामुदायिक विद्यालयप्रतिको विश्वास र अपनत्वलाई बलियो बनाएको कार्यक्रममा सहभागीहरुले जनाएका छन् ।
शिक्षा, संस्कार र समुदाय बीचको सहकार्यलाई मजबुत बनाउने उद्देश्य सहित आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, समाजसेवी, बुद्धिजीवी एवम् विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।