कञ्चनपुर -
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भीमदत्त नगर समितिको सभापतिमा दिनेशप्रसाद भट्ट निर्वाचित भएका छन्। सोमबार सम्पन्न रास्वपा भीमदत्त नगरपालिकाको प्रथम नगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा भट्टले तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
भट्टले निकटतम प्रतिस्पर्धी योगेश शाहीलाई ४ मतको अन्तरले पराजित गरेका छन्। निर्वाचन परिणाम अनुसार भट्टले ५० मत प्राप्त गर्दा शाहीले ४६ मत ल्याएका थिए। अन्य प्रतिस्पर्धी अम्बादत्त जोशीले ४ मत र बिरेन्द्रप्रसाद तिवारीले ३ मत प्राप्त गरेका थिए।
यस्तै, नगर सचिव पदमा यज्ञराज भट्ट निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी निरज भट्टलाई ५ मतले पराजित गर्दै सचिवमा विजयी भएका हुन्। यज्ञराज भट्टले ५३ मत प्राप्त गर्दा निरज भट्टले ४८ मत ल्याएका थिए।
निर्वाचनमा कुल २१० मतदाता मध्ये १११ मत खसेको थियो। जसमध्ये १०४ मत सदर हुँदा ७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यसअघि २७ पुसमा सम्पन्न अधिवेशनबाट नगर उपसभापतिमा सुमन कुँवर, सहसचिवमा मोहनसिंह साउद तथा सदस्यहरू नरबहादुर कार्की, हरकसिंह कार्की, केशव साउद, पुनम चौधरी, हेमराज भट्ट र प्रकाश बोहरा सर्वसम्मत चयन भएका थिए।
त्यस्तै प्रदेश प्रतिनिधिमा शंकर साउद र शान्तिप्रसाद भट्ट तथा केन्द्रीय प्रतिनिधिमा राजेन्द्रसिंह साउद, देवसिंह ऐरी र यज्ञराज जोशी चयन भएका छन्। अन्य सदस्यहरूमा बिरेन्द्रसिंह साउद, जगतबहादुर सिंह र पदमबहादुर विष्ट रहेका छन्।
रास्वपा कञ्चनपुरको भीमदत्त नगर नेतृत्व चयनका लागि पहिलो पटक पूर्ण रूपमा चुनावी लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरिएको हो। निर्वाचनबाट सभापतिमा चयन भएका दिनेशप्रसाद भट्टले पार्टीलाई जनआधारित र प्रभावकारी ढंगले अग्रमोर्चामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।