बेलौरीमा जलवायु उत्थानशील कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न

होमपेज / विविध / समाचार / समाज /
बेलौरीमा जलवायु उत्थानशील कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न
  • शीतल भट्ट
  • ७ पुष २०८२ (३ हप्ता अघि)
  • १६९

बेलाैरी, कञ्चनपुर —

समुदायमा आधारित जलवायु उत्थानशील कार्यक्रम (Community Resilience Programme–CRP)अन्तर्गत बेलौरीमा पालिका स्तरीय परियोजना सल्लाहकार समिति (LPAC) संग कार्यक्रमकाे समीक्षा तथा आगामी योजना तर्जुमा सम्बन्धी बैठक सम्पन्न भएको छ।

उक्त बैठक CRP, PESWAN र Practical Action को सहकार्यमा आयोजना गरिएको आयाेजकले जनाएको छ।

बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा जलवायु परिवर्तनका कारण स्थानीय तहमा देखिँदै आएका जोखिम, पूर्वतयारी तथा अनुकूलन रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा हालसम्म कार्यान्वयनमा रहेका गतिविधिको समग्र मूल्याङ्कन गर्दै आगामी कार्यदिशा तय गर्ने विषयमा सरोकारवालाबीच छलफल केन्द्रित रहेको पेसवानका फिल्ड अधिकृत विवेक क्षेडालले जानकारी दिनुभयो।

बैठकमा पेसवान कञ्चनपुर जिल्ला कार्यक्रम संयोजक दिलबहादुर ढाँटले प्रस्तुतिकरण गर्दै जलवायु परिवर्तनले कृषि, खाद्य सुरक्षा, जीविकोपार्जन, बाढी तथा डुबान जोखिममा पारेको प्रभावबारे तथ्यगत जानकारी प्रस्तुत गर्नुभएकाे थियो। उहाँले जोखिम न्यूनीकरण र समुदायको उत्थानशीलता अभिवृद्धिका लागि स्थानीय सरकार, संघसंस्था र समुदायबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

पेसवान र Practical Action ले बेलौरी नगरपालिकाका उच्च विपद् जोखिमयुक्त क्षेत्रहरूमा हालसम्म सञ्चालन गरेका तथा निरन्तर रूपमा कार्यान्वयनमा रहेका कार्यक्रमहरूको विवरण प्रस्तुत गरिएको थियो।

जोखिम पहिचान, समुदायस्तरीय क्षमता विकास, पूर्वसूचना प्रणाली, जलवायु अनुकूलन र दिगो विकासका अभ्यासहरूलाई प्राथमिकतामा राखेर काम भइरहेको संयोजक ढाँटले जनाउनु भयो।

कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लालबहादुर चौधरीले जलवायु परिवर्तनको प्रभाव स्थानीय तहमा प्रत्यक्ष रूपमा देखिने भएकाले यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय आवश्यकता र जोखिमलाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यस्तै, बेलौरी नगरपालिका विपद् फोकल पर्सन अशोक पाण्डेयले विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी, सूचना प्रवाह र संस्थागत समन्वयको महत्व उल्लेख गरेका थिए।पाण्डेयले संघसंस्थासँगको सहकार्यले नगरपालिकाको विपद् व्यवस्थापन क्षमतामा सुधार आएको बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख चौधरीले जलवायु परिवर्तनलाई दीर्घकालीन चुनौतीका रूपमा लिँदै स्थानीय सरकार, विकास साझेदार र समुदायबीचको सहकार्यलाई अझ सुदृढ गर्नुपर्ने धारणा व्यक्त गरे। चाैधरीले जलवायु उत्थानशील विकासलाई नगरपालिकाको प्राथमिकतामा राखेर आगामी योजनाहरू अघि बढाइने प्रतिबद्धता जनाएका छन्।

बैठकमा बेलौरी नगरपालिकाका विभिन्न विषयगत शाखा प्रमुख तथा प्रतिनिधि, कर्मचारी, जनप्रतिनिधि, सरोकारवाला हरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तिम अध्यावधिक: ७ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस