बेलौरी नगरपालिकाको १६औँ अधिवेशन सम्पन्न

होमपेज / समाचार /
बेलौरी नगरपालिकाको १६औँ अधिवेशन सम्पन्न
  • रेडियो सुदूर सञ्चार
  • १० पुष २०८२ (३ हप्ता अघि)
  • १९७

डम्बर सिंह धामी/ बेलौरी कञ्चनपुर -

बुधबार बेलौरी नगरपालिकाले १६औँ हिउँदे अधिवेशन सम्पन्न गरेको छ।

बेलाैरी नगर प्रमुख पोतीलाल चौधरीकाे सभाध्यक्षतामा उक्त अधिवेशन सम्पन्न भएको हाे। 

अधिवेशनमा आर्थिक वर्ष ०८२/०८३ का लागि विनियोजित योजना तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्था, बजेट खर्च विवरण तथा समग्र प्रगतिबारे विस्तृत समीक्षा गर्दै प्रभावकारी कार्यान्वयनका लागि आवश्यक रणनीति तय गरिएको बेलाैरी नगर प्रवक्ता हर्कबहादुर भुलले बताए।

नगरपालिकाले यसपटकको अधिवेशनलाई नीति तथा कार्यक्रमको पुनरवलोकन, चुनौतीहरूको पहिचान र आगामी कार्ययोजनालाई थप परिणाममुखी बनाउने अवसरका रूपमा लिएको प्रवक्ता भुलकाे भनाइ छ।

कार्यक्रमका क्रममा नगर उपप्रमुख जोगराम चौधरीले पालिकाका सबै वडा तथा विषयगत शाखाहरूको अर्धवार्षिक प्रगतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमार्फत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास, खानेपानी, सरसफाइ, सडक विस्तार तथा अन्य सार्वजनिक सेवा प्रवाहसम्बन्धी योजनाको प्रगति, खर्चको अवस्था र उपलब्ध नतिजाबारे विस्तृत विवरण प्रस्तुत गरिएको थियो। 

केही योजनामा देखिएका ढिलाइका कारण, प्राविधिक चुनौती, ठेकेदारको कार्यगत गति र बजेट व्यवस्थापनसँग सम्बन्धित पक्ष पनि समीक्षामा समावेश गरिएको जनाइएको छ।

उपप्रमुख चौधरीले विनियोजित बजेटलाई पारदर्शी, उत्तरदायी र जनमुखी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै योजनाको छनोटदेखि कार्यान्वयनसम्म सबै तहमा समन्वय र जवाफदेहिता आवश्यक रहेको उल्लेख गरे।

अधिवेशनमा छुटपुट रहेका केही योजना थप गर्ने, आवश्यकता अनुसार रकम शीर्षकान्तर गर्ने तथा सन्तोषजनक प्रगति हासिल गरेका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको बताइएको छ। 

नगर प्रवक्ताका अनुसार विकासलाई दीगो, व्यवस्थित र प्रभावकारी बनाउन अधिवेशनमार्फत महत्वपूर्ण नीतिगत निर्णयहरू गरिएको छ।

समापन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख पोतीलाल चौधरीले योजना तथा बजेट कार्यान्वयनमा पारदर्शिता, सुशासन र नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै नगर विकासलाई तीव्र बनाइने बताए। 

उनले जनअपेक्षासँग मेल खाने परिणाम देखिने गरी नगरपालिका सञ्चालित कार्यक्रम अघि बढाइने स्पष्ट पारे।

सहभागी सदस्यहरूले प्रस्तुत गरेका सुझाव र बहसका निष्कर्षलाई आधार मानेर आवश्यक नीतिगत सुधार तथा कार्यक्रम परिमार्जन गर्दै जाने नगरपालिकाले जनाएको छ।

अधिवेशनमार्फत नगरको विकास यात्रालाई अझ योजनाबद्ध, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ।

अधिवेशनमा नगरसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुखहरू एवम् सराेकारवालाहरुको सहभागीता रहेको थियो।

अन्तिम अध्यावधिक: १० पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस