‘एउटै मान्छेले पटक–पटक अवसर पाउँछ भन्ने भाष्य चिर्न उम्मेदवार नबन्ने भएँ’

होमपेज / अन्तर्वार्ता /
‘एउटै मान्छेले पटक–पटक अवसर पाउँछ भन्ने भाष्य चिर्न उम्मेदवार नबन्ने भएँ’
  • रेडियो सुदूर सञ्चार
  • १० पुष २०८२ (३ हप्ता अघि)
  • १६२

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुने बेलासम्म संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । त्यही आन्दोलनको रापतापमा त्यो सरकार हट्यो र आन्दोलनको जोडबलमा पूर्वप्रधानन्यायाधीश सुशीला काकीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । निर्वाचन गर्ने म्यान्डेट पाएको कार्की सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको छ । 

त्यही निर्वाचनमा उम्मेदवार सिफारिस गर्न कांग्रेसले मातहतका निकायलाई मङ्सिर मसान्तसम्म केन्द्रमा आइपुग्नेगरी उम्मेदवार सिफारिस भनेको थियो । २०७९ को निर्वाचनमा बाजुराबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित पाण्डेले यो पटक कांग्रेस बाजुरालाई आफूलाई प्रतिनिधिसभा र राष्ट्रियसभामा उम्मेदवारका रूपमा सिफारिस नगर्न भने । सोहीअनुरुप कांग्रेस बाजुराले उनको नाम सिफारिस गरेको छैन । पाण्डेले एक व्यक्ति निर्वाचित भएर इस्ट्याब्लिस (स्थापित) भएपछि अर्कोले अवसर नपाउने अवस्था चिर्न यस्तो निर्णय लिएको बताएका छन् ।

‘सबैजसो निर्वाचन क्षेत्रहरूमा, देशैभरि एउटै मान्छेले पटक–पटक अवसर पाउँछ, त्यो मान्छे स्ट्याब्लिस भएपछि अर्कोको अवसर नै आउँदैन । उसले नै ठाउँ रोकेर बस्छ भन्ने जुन भाष्य बनेको छ त्यसलाई चिर्न यो निर्णय लिएको हुँ,’ पाण्डेले रातोपाटीसँग भने । उनै पाण्डेसँग यसै सन्दर्भमा रातोपाटीले गरेको कुराकानीको सारसंक्षेप : 

  • फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभामा आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टीको बाजुरा जिल्ला समितिलाई भन्नुभएछ । कारण के हो ?

–खासमा अरूलाई पनि अवसर दिने भनेर नै हो । नयाँलाई अवसर दिने भनेर हो । म योभन्दा पहिले राष्ट्रियसभामा सदस्य भएँ । संविधानसभा सदस्य पनि भएँ । २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्यमा बाजुराबाट प्रत्यक्ष निर्वाचित भएँ । त्यसपछि निवर्तमान केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री भएर काम गरेँ ।

सबै जसो निर्वाचन क्षेत्रहरूमा, देशैभरि एउटै मान्छेले पटक–पटक अवसर पाउँछ, त्यो मान्छे इस्ट्याब्लिस भएपछि अर्कोको अवसर नै आउँदैन । उसले नै ठाउँ रोकेर बस्छ भन्ने जुन भाष्य बनेको छ त्यसलाई चिर्न यो निर्णय लिएको हुँ । यो हाम्रो पार्टी नेपाली कांग्रेसमा मात्र होइन, सबै पार्टी र नेपाली राजनीतिमै त्यस्तो देखिएको छ । त्यसलाई चिर्न मानिसहरू बदलिन्छन् । सबैको पालो आउँछ । कोही मान्छे पनि सधैँका लागि चिरस्थायी हुँदैन भन्ने खालको एउटा सन्देश जाओस् भनेर नलड्ने निर्णय लिएको हुँ ।

म एकजनाले गरेर सबैथोक त नहोला । तर कसै न कसैले त्यो सन्देश प्रवाह गर्नुपर्छ भन्ने मलाई लाग्यो । त्यो कारणले म नै किन त्यसो नगर्ने भन्ने लागेर नै एक कार्यकाल पार्टीको काममा लाग्छु । पार्टी संगठनको काम गर्छु । सरकारको काम अरू साथीहरूले गर्नुहुन्छ भन्ने हिसाबले उम्मेदवारी नदिने निर्णय लिएको हुँ । 

  • एक कार्यकालका लागि हो कि अब संसदीय चुनाव लड्दै नलड्ने हो ?

–होइन, यो कार्यकाललाई मात्रै हो । यो कार्यकालमा संसद्को काम, सरकारको सम्भावित काम नगरी पार्टीको गरौँ भन्ने हो । सरकारमा त अब पार्टी जान्छ/जाँदैन, गएपछि आफू गइन्छ/गइन्न, त्यो त टुङ्गो छैन । तर पनि संसद्मा गएपछि सरकारमा जाने सम्भावना त रहन्छ नै । त्यसैले आफू संसद्मा पनि नजाने, सरकारमा पनि नजाने, पार्टीको काम गर्ने, पार्टीलाई सुदृढ बनाउने मेरो धारणा हो । 

पार्टी बलियो बनाउने बाटोमा लागियो भने, पार्टी बलियो हुँदा, पार्टी सुदृढ हुँदा, पार्टीमा मास आधार हुँदा त्यसले राजनीतिलाई पनि सुधार गर्छ । राजनीति सुधार्न अहिलेको आवश्यकता जस्तो देखेर, यो बाटो पो ठिक हो कि भन्ने लागेर मैले यस्तो निर्णय लिएको हुँ । किनकि मैले अब यसपछि जाने भनेको पनि प्रतिनिधि सभा सदस्यमा हो, त्यो भूमिका पहिला पनि निभाइसकेँ । मन्त्री पनि भइसकेँ । एक कार्यकाल पार्टी राजनीति गरौँ भन्ने ध्येय हो । 

पार्टीको महाधिवेशन आइरहेको छ, त्यतै फोकस हुन्छु । संगठन निर्माणतिरै लाग्छु । जिल्लाको संगठन पनि दरिलो बनाउँछु र देशव्यापी संगठन निर्माणमै लाग्छु भनेर मैले त्यो निर्णय गरेको हुँ ।

  • तपाईं आफै सरकारमा भएको बेला जेनजी आन्दोलन भयो, त्यही भएर एक कार्यकालका लागि विश्राम लिन्छु भनेको त होइन नि ? 

होइन, जेनजी आन्दोलनका सकारात्मक र नकारात्मक दुइटै पाटाहरू छन् । एउटा सकारात्मक पाटो भनेको परिवर्तन, रुपान्तरण र नयाँहरूलाई अवसर हो । त्यो सकारात्मक पाटो हो । त्यसैले व्यक्त अव्यक्त ढंगले आन्दोलनले दिने नयाँ चेतनाबाट प्रभावित सबै हुन्छन् । त्यसबाट म पनि केही प्रभावित भएको हुन सक्छ । त्यो भनेको रूपान्तरणको चेतना, परिवर्तनको चेतना, नयाँपनको चेतना हो । यो चेतनाबाट म निर्देशित भएको हुन सक्छु ।

  • तपाईंले पार्टी र संसद् दुवैको राजनीति नै त्याग्छु अब भन्नुभएको त होइन नि ? 

मैले त्यसो भनिनँ नि । पार्टीमा झन् म दोब्बर सक्रिय हुन्छु भनेको हो । संसद् जाऊ, संसद्को समितिमा जाऊ, सरकारमा बस्दा पार्टीको काम गर्न भ्याइएन । म पार्टीको सहमहामन्त्री पनि थिएँ, मन्त्री पनि थिएँ । इमानदार कुरा गर्दा सहमहामन्त्री र मन्त्री दुइटै हुँदा मैले सहमहामन्त्रीको काम भनेजस्तो गर्न भ्याएको थिइनँ । त्यसो हुँदा पार्टीको काम दोब्बर गर्ने र पार्टीलाई सुदृढ बनाउने भन्ने उद्देश्य हो । पलायन हुने होइन, संन्यास लिने होइन । संसद् र संसदीय समिति या सरकारमा हुने कामको प्रकृतिलाई पार्टीतिर फोकस गर्न खोजेको हो ।

  • अब हामीले यसरी बुझ्नुपर्‍यो, एक कार्यकालका लागि संसद्मा नजाने, पार्टीमा सक्रिय भूमिका निभाउने । अर्को कार्यकाल त जान पनि सकिन्छ ?

होइन, मैले संसद्को अर्को कार्यकालबारे कुरै गर्‍या छैन । यसपटक निर्वाचन नलड्ने भनेको हो । त्यो पलायन हुन, खाली बस्न, भूमिकाविहीन हुन होइन, अझ पार्टी सुदृढीकरणको भूमिकालाई बढोत्तरी गर्न हो ।

  • त्यसो भए तपाईं सहमहामन्त्री भएको नेपाली कांग्रेसको महाधिवेशन पनि आउँदै छ । पार्टीमा सहमहामन्त्री भन्दा माथिल्लो पदको तयारीका लागि संसदीय निर्वाचन नलड्ने भनेको त होइन नि ?  

होइन, मैले योभन्दा पहिले सहमहामन्त्रीको उम्मेदवारी निर्क्योल गर्दा नै भनेको थिएँ, फेरि सहमहामन्त्री दोहर्‍याउँदिनँ भन्या थिएँ । म सुरुमा भौगोलिक प्रतिनिधित्वको रूपमा सेती अञ्चलबाट केन्द्रीय सदस्य भए । पार्टीको १३औँ महाधिवेशनमा पुग्दा ती अञ्चलहरू प्रदेश भएका थिए । त्यो बेला मैले आफ्नो भौगोलिक प्रतिनिधित्वलाई म दोहोर्‍याउन्नँ भनेर खुला २५ जना केन्द्रीय सदस्यमा निर्वाचन लडेँ र निर्वाचित भएँ । 

केन्द्रीय सदस्यमा भौगोलिक प्रतिनिधित्व र खुलाबाट पनि जितेर एक कार्यकाल काम गरेपछि १४औँ महाधिवेशनमा अब पदाधिकारी तहमा पुग्छु भन्ने ध्येयका साथ सहमहामन्त्रीको उम्मेदवारी दिएँ । त्यो उम्मेदवारी दिँदै मैले अब म दोहोर्‍याएर सहमहामन्त्री पदमा फेरि निर्वाचन लड्दिनँ, मेरो एक पटक हो, एक पटक बन्छु, र त्यो भन्दा अगाडि बढ्छु भनेको थिएँ । 

मैले अहिले अब आफूले मात्रै होइन साथीहरूसँग, नेताहरूसँग छलफल गर्नुपर्छ । छलफल गरेपछि मात्रै औपचारिक रूपमा बोल्ने कुरा हो । तर सामान्यतया, अब मैले सहमहामन्त्रीको यो कार्यकालपछि महामन्त्री बन्नुपर्छ र पार्टीको काममा दत्तचित्त भएर लाग्नुपर्छ भन्ने दृष्टिकोण राखेको छु ।ं

अन्तिम अध्यावधिक: १० पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस