महाकाली पुलकाे काम दुई वर्षदेखि ठप्प

होमपेज / पूर्वाधार /
महाकाली पुलकाे काम दुई वर्षदेखि ठप्प
  • रेडियो सुदूर सञ्चार
  • १३ पुष २०८२ (३ हप्ता अघि)
  • १९५

कञ्चनपुर -

कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल अझै सम्पन्न हुन सकेको छैन। पुलसँग जोडिएका पहुँच मार्ग तथा दुवैतर्फ नदी किनारमा निर्माण गर्नुपर्ने पोखरीका गाइड बण्डको काम बाँकी रहेकामा पछिल्ला दुई वर्षदेखि आयोजनास्थलमा कुनै प्रगति भएको छैन।

गत वर्षको बाढीले गाइड बण्ड भत्काएपछि यस वर्ष क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै नेपाली सेनामार्फत मर्मत र नदीको धार परिवर्तन गरिएको थियो। तर त्यसबाहेकका सबै निर्माण कार्य रोकिएका छन्। आयोजनाका प्रमुख नेत्र देवकोटाका अनुसार परिवर्तित डिजाइनको भेरिएसन स्वीकृत नहुनु र म्याद थप नहुनु नै मुख्य समस्या हो। निर्माण कम्पनीले साइट छाडिसकेको र आयोजनालाई अघि बढाउन नसक्ने अवस्थामा पुगेको उनले बताए। यस विषयमा मन्त्रालयसँग निरन्तर पत्राचार भइरहेको जनाइएको छ।

निर्माण कम्पनीले ठेक्का तोड्न पत्र दिएको भए पनि आयोजनाले स्वीकार गरेको छैन। गत साता ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले स्थलगत अनुगमन गर्दै भेरिएसन स्वीकृतिका लागि पहल गर्ने आश्वासन दिएका थिए। त्यसपछि आयोजनाले भेरिएसन, म्याद थप र ठेक्का तोडसम्बन्धी विषय मन्त्रालयमा पठाएको छ।

चालु आर्थिक वर्षमा साढे ८ करोड रुपैयाँ बजेट विनियोजन भए पनि उक्त रकमले बाँकी भुक्तानी धान्न नसक्ने अवस्था छ। भेरिएसन स्वीकृत भएमा बजेट वृद्धि हुने अपेक्षा गरिएको छ।

२०७४ भदौमा तीन वर्षभित्र काम सक्ने गरी ३ अर्ब २७ करोड रुपैयाँमा कुमार श्रेष्ठ–सिएफइसी जेभीसँग ठेक्का सम्झौता भएको थियो। कोरोना महामारी र नदीको उच्च बहावका कारण काम प्रभावित भए पनि पछिल्लो समय भेरिएसन प्रक्रियामै अल्झिँदा निर्माण पूर्णरूपमा ठप्प भएको छ।

पुलको दुवैतर्फ ६ सय मिटर चौडाइ र २ हजार ८ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्ने योजना छ। सुरुमा ठूला ढुंगाबाट गाइड बण्ड बनाउने डिजाइन भए पनि सामग्री अभावका कारण ग्राभेल र कंक्रिट प्रयोग गरिएको थियो। बाढीले त्यो संरचना भत्काएपछि अहिले फेरि नयाँ डिजाइन तयार पारिएको आयोजनाले जनाएको छ।

अन्तिम अध्यावधिक: १३ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस