बेलौरी, कञ्चनपुर —
आइतबार बेलौरी नगरपालिका–४ द्वारा शान्ति मा.वि शान्तिपुरका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ।
पछिल्लो समय बेलौरीमा जाडो बढेसँगै विद्यार्थीहरुलाई सुरक्षित गर्न विद्यालयका करिव ७० जना नानीबावुलाई न्यानो लुगा वितरण गरिएको वडाध्यक्ष अर्जुन ढकालले बताए।
अध्यक्ष ढकालका अनुसार, जाडाे छल्न गरिब तथा विपन्न परिवारका अध्ययनरत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हाे।, यसअघि पनि साेही विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराउने क्रममा ६० थान खेलकुद ड्रेस वितरण गरिएको थियो।
यसरी वडाबाट नियमित सहयोग मार्फत विद्यार्थीहरुको शैक्षिक तथा खेलकुद क्षेत्रमा सहजता प्रदान गरिँदै आएको उनले बताए।
अध्यक्ष ढकालले भने, “हाम्रा विद्यार्थीहरूलाई उत्साहित र प्रोत्साहित गर्न यस्ता पहल महत्वपूर्ण छन्। जाडोको समयमा न्यानो लुगा वितरणले उनीहरूको स्वास्थ्य सुरक्षित रहन मद्दत गर्छ र पढाइमा मन लगाउने वातावरण समेत सिर्जना गर्दछ।”
न्यानो लुगा लाएपछि शान्ति माध्यमिक विद्यालयका विद्यार्थी हर्षित भएका छन् भने शिक्षक तथा अभिभावकहरूले पनि यस कार्यको प्रशंसा गर्दै अध्यक्ष ढकाललाई धन्यवाद ज्ञापन गरेका थिए।
समुदायमा सन्तोषजनक कार्य गर्दै आएका ढकाल दोस्रो पटक निर्वाचित जनप्रतिनिधि हुन्। उनले शिक्षा, स्वास्थ्य, खेलकुद, खानेपानी, विकास निर्माण, धार्मिक तथा समाजिक सेवाका क्षेत्रमा निरन्तर पहल गर्दै आएका छन्।
यस किसिमका पहलहरूले स्थानीय सरकार र विद्यालयबीचको सहकार्यलाई बलियो बनाउँदै विद्यार्थीहरूको स्वास्थ्य/शिक्षामा सहयोगी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।