समानुपातिकतर्फको बन्दसूची बुझाउने दलकाे सङ्ख्या ९ पुग्याे

होमपेज / राजनीति /
समानुपातिकतर्फको बन्दसूची बुझाउने दलकाे सङ्ख्या ९ पुग्याे
  • रेडियो सुदूर सञ्चार
  • १४ पुष २०८२ (२ हप्ता अघि)
  • १७६

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने क्रम चलिरहेको छ । बन्दसूची पेश गर्नका लागि आयोगले तोकेको अन्तिम दिन आज आयोग कार्यालयमा दलहरूकाे भीड लागेको हो ।

हिजो पहिलो दिन तीन वटा दलले मात्रै बन्दसूची पेश गरेका थिए । अहिलेसम्म बन्द सूची पेश गर्ने दलहरूको सङ्ख्या ९ पुगेको छ । थप ४२ वटा दलले सूची बुझाउन निस्सा लिएका छन् ।

आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), गतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी र समावेशी समाजवादी पार्टी नेपालले बन्दसूची बुझाइसकेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लगायतका ठूला दलले बन्दसूची बुझाउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बन्दसूचीमा समावेश गर्ने उम्मेदवारहरूको टुङ्गो लगाउन बैठक बसिरहेका बेला सभापति रवि लामिछानेले कुलमान घिसिङसँग पुनः छलफल थाल्नुभएको छ ।  काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहसहित लामिछाने र घिसिङको छलफल भइरहेको हो ।

यसैबीच अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएका छन् । तीन वटै पार्टीले नागरिक उन्मुक्ति पाटीको जाँतो चिह्नमा समानुपातिकतर्फको बन्दसूची बुझाउन आयोगमा पुगेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय थपिने छैन । तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आयोगको कार्यालयमा पुगेका दलहरूलाई भने भोलि बिहान १० बजे पनि सेवा दिइने छ । आयोगमा प्रतिनिधि पठाएर निस्सा लिए पनि धेरैले बन्दसूची पेश नगर्दा समस्या भएको छ ।

अन्तिम अध्यावधिक: १४ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस