किशोर तामाङ / पुनर्वास कञ्चनपुर —
कञ्चनपुरकाे पुनर्वास नगरपालिका क्षेत्रबाट उदाउँदै आएका युवा फुटबलर विकास थापा एन्फा यू–१६ युथ लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्। मच्छिन्द्र फुटबल क्लबबाट अनुबन्ध भई लिगमा खेलिरहेका थापाले उत्कृष्ट प्रदर्शन गर्दै कुल ३० गोल गरेका थिए।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको यू–१६ युथ लिगमा देखाएको निरन्तरता, गोल गर्ने क्षमतासहितको प्रभावशाली खेलकूदकर्मीको पहिचानका कारण थापा लिगका ‘टप स्कोरर’ घोषित भएका हुन्।
एन्फाका महासचिव किरण राईले समापन समारोहका क्रममा थापालाई ट्रफी र नगद चेकसहित सम्मान प्रदान गरेका थिए।
ग्रामीण भेगमा हुर्किएका थापाले स्थानीय स्तरदेखि जिल्ला र प्रदेश लिगसम्म निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन्।
फुटबलप्रति गहिरो लगाव राख्ने उनी पुनर्वासस्थित अरनिको युवा क्लबका खेलाडीसमेत हुन्।
कम उमेरमै राष्ट्रिय स्तरको प्रतियोगितामा यसरी गोलकर्ताको शिखरमा पुग्न सफल थापाको खेल जीवनले कञ्चनपुर र सुदूरपश्चिममै मात्र होइन, देशभरकै युवा खेलाडीका लागि प्रेरणाको स्रोत बनेको छ।
भविष्यमा आणखी उचाइ हासिल गर्ने सम्भावना रहेका थापालाई स्थानीय र खेलकुद क्षेत्रबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ।