चन्द्रिका चाैधरी/ बेलौरी, कञ्चनपुर —
आइतबार बेलौरी नगरपालिका–५ मा अवस्थित श्री जननमुना माध्यमिक विद्यालयको २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरप्रमुख पोतीलाल चौधरी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरसिंह चौधरीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा नेतृ दीपा चौधरी, बेलौरी नगर प्रवक्ता हर्कबहादुर भुल, वडाध्यक्ष लालबहादुर चौधरी लगायतका जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अवसर प्राप्त भएको सहभागीहरूले उल्लेख गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख चौधरीले शिक्षा क्षेत्र कुनै पनि समाजको दिगो विकासको आधार भएको भन्दै विद्यालयको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे।
उनले भने— “विद्यालयले दिएको शिक्षा केवल पाठ्यपुस्तकसम्म सीमित हुनु हुँदैन। नैतिकता, समाजप्रतिको दायित्व र जीवन उपयोगी सीपसहितको गुणस्तरीय शिक्षामार्फत मात्र उज्यालो भविष्यको निर्माण हुन्छ। अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापनबीच सहकार्य भयो भने हाम्रो बालबालिकाको भविष्य अझ उज्यालो बन्नेछ। नगरपालिका पनि शिक्षा क्षेत्रको सुदृढीकरणका लागि निरन्तर साथ र सहयोगका साथ उभिएको छ।”
यसैगरी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरसिंह चौधरीले विद्यालयले सीमित स्रोतसाधनका बाबजुद शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी बनाउन सबै पक्षको साथ आवश्यक पर्नेमा जोड दिए।
उनले भने— “विद्यालयलाई समुदायकै साझा शैक्षिक धरोहरका रूपमा अघि बढाउन हामी प्रतिबद्ध छौं। अभिभावकको विश्वास, शिक्षकको परिश्रम र विद्यार्थीको लगनशीलता नै हाम्रो मूल शक्ति हो। यस विद्यालयलाई अझ उत्कृष्ट शिक्षालय बनाउने लक्ष्यसहित हामी योजनाबद्ध ढंगले अघि बढिरहेका छौं।”
कार्यक्रमका वक्ताहरूले शिक्षा क्षेत्रमा देखिएका चुनौती, सुधारका सम्भावना तथा विद्यार्थीको समग्र विकासमा विद्यालयको भूमिका विषयमा आफ्ना दृष्टिकोण राखेका थिए।
उक्त अवसरमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, नियमित अनुशासित विद्यार्थी तथा विद्यालयका हितमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमकामा विद्यालय प्रधानाध्यापकले सहभागी सबैप्रति आभार व्यक्त गर्दै विद्यालयको विकासका लागि निरन्तर साथ र सुझाव दिन आग्रह गरेका थिए।