बेलाैरी, कञ्चनपुर —
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले युवा नेता जनक सिंह धामीलाई सर्वसम्मत सिफारिस गरेको छ।
रास्वपाको कञ्चनपुर जिल्लास्तरीय बृहत् भेलाले पालिकादेखि केन्द्रसम्मका प्रतिनिधिहरूको सहभागितामा धामीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। धामी पार्टीको अभियान तथा प्रचार–प्रसार विभागका केन्द्रीय सदस्य समेत रहेका सक्रिय नेता हुन्।
सुदूरपश्चिममा संगठन विस्तारदेखि जनताका पक्षमा काम गर्दै आएका धामी सरल, मिलनसार र सेवामुखी स्वभावका कारण लोकप्रिय नेता भनेर परिचित छन्।
पार्टीका नेता तथा कार्यकर्ताले उनको योगदान र क्षमताको उचित मूल्यांकन गर्दै कञ्चनपुर–१ बाट सर्वसम्मत रूपमा सिफारिस गरेका हुन्।
पछिल्ला दिनमा यसक्षेत्रमा उनको पक्षमा सकारात्मक चुनावी माहोल देखिएको स्थानीय बताउँछन्।
धामीले कञ्चनपुर–१ को विकास आफ्नो प्रमुख प्रतिबद्धता रहेको उल्लेख गर्दै जनताको समस्या पहिचान र समाधानमा आफू दृढतासाथ लाग्ने बताएका छन्।
उनले भने, “जनता सार्वभौम हुन्। पुराना पार्टीहरूले अहिलेसम्म के गरे ? जनताको पीडा उस्तै छ। अब जनताले उचित मूल्यांकन गरेर निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ।”
उनका अनुसार आरक्षपीडित, सुकुम्बासी, दोदाको समस्या, वन्यजन्तुजन्य जोखिम, सीमा समस्या, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, तटबन्धलगायत थुप्रै चुनौती क्षेत्रमै रहेका छन्।
धामीले जनताले विश्वास गरेमा यस्ता समस्याको दीर्घ समाधानका लागि कुनै कसर बाँकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
को हुन् युवा नेता जनक सिंह धामी ?
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ निवासी धामी झन्डै तीन दशकभन्दा बढी समय नेपाली कांग्रेससँग आवद्ध रहेर विभिन्न जिम्मेवारीमा काम गरिसकेका अनुभवी नेता हुन्।
२०८० सालमा उनले कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। पार्टी प्रवेश कार्यक्रम रास्वपाको केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेकै हातबाट सम्पन्न भएको थियो।
उनका अनुसार २१औँ शताब्दीमा पनि कांग्रेस परम्परागत सोचमा सीमित रहनु, गुटबन्दी तथा भ्रष्टाचार बढ्नु, त्याग–समर्पण र इमान्दार नेतृत्वको मूल्याङ्कन नहुनुजस्ता कारणले निराश भई उनले नयाँ राजनीतिक विकल्प रोजेकाे बताए।
धामी ०४२ सालमै कक्षा १० पढ्दै गर्दा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। ०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा सहभागी भएका उनी त्यस क्रममा हिरासतसमेत परेका थिए।
नेपाल विद्यार्थी संघको सिद्धनाथ बहुमुखी क्याम्पस इकाइ अध्यक्ष हुँदै उनी कांग्रेसको क्षेत्रीय सभापति, जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिसम्म पुगेका जुझारु युवा हुन्।
१४औँ महाधिवेशनमा उनी अल्प मतान्तरले जिल्ला सचिवमा पराजित भएका थिए। उनको नेतृत्वमा पछिल्लोपटक कञ्चनपुर–१ मा हुलाकी सडक निर्माणमा देखिएको लापरवाहीविरुद्ध दैजीदेखि डोकेबजार सम्म ६५ किलोमिटर पैदल यात्रा समेत गरिएको थियो।
सो कदमपछि सरकारले गम्भीर ध्यान दिएर निर्माण कार्य तीव्र बनेको स्थानीयहरू बताउँछन्। समाजसेवामा यस्ता धेरै उदाहरण उनका नाममा जोडिएका छन्।
हाल राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तथा प्रचार–प्रसार विभागका केन्द्रीय सदस्यका रूपमा रहेका धामी पार्टीभित्र र बाहिर दुवै क्षेत्रमा सरल इमानदार एवम् लोकप्रिय नेता भनेर चिनिन्छन्।