कञ्चनपुर —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सचिवालय सदस्य दीपक बोहरा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्।
बुधबार शुक्लाफाटा नगर समितिको कार्यालयमा सम्पन्न निर्वाचन क्षेत्र समिति तथा पालिका सभापतिहरूको संयुक्त बैठकले बोहरालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
निर्वाचन क्षेत्र समिति–२ का सभापति गणेश खड्काका अनुसार बैठकमा पार्टीका स्थानीय तहका नेतृत्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
दुई दशकभन्दा लामो समय पत्रकारिता क्षेत्रमा सक्रिय बोहरा निडर, तथ्यपरक र जनपक्षीय पत्रकारका रूपमा परिचित छन्। उनले सञ्चार माध्यममार्फत सुशासन, पारदर्शिता तथा जनअधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै नागरिकको विश्वास आर्जन गर्दै आएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध बोहराले नेतृत्वदायी भूमिका निर्वाह गर्दै ४० लाखभन्दा बढी नागरिकको हस्ताक्षर संकलन अभियान सफलतापूर्वक सञ्चालन गरेका थिए।
उक्त अभियानलाई उनले कुनै एक व्यक्तिको पक्षमा मात्र नभई वैकल्पिक राजनीति र जनमतको संरक्षणका रूपमा अघि बढाएका थिए, जसले राष्ट्रियस्तरमा व्यापक ध्यानाकर्षण गराएको थियो।
पार्टीका अनुसार बोहराको उम्मेदवारी पुरानो सत्ता–केन्द्रित राजनीति, दबाब र डरको संस्कृतिविरुद्ध जनताको स्पष्ट अभिव्यक्ति हो।
पत्रकारितामार्फत देखाएको साहस, संगठन निर्माणमा देखाएको प्रतिबद्धता र जनआन्दोलनमा निर्वाह गरेको भूमिकाका आधारमा कञ्चनपुर–२ का लागि उनी उपयुक्त प्रतिनिधि भएको निष्कर्ष बैठकले निकालेको छ।
रास्वपाले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा इमानदार, जवाफदेही र जनमुखी प्रतिनिधित्व सुनिश्चित गर्न बोहराको उम्मेदवारी निर्णायक हुने विश्वास व्यक्त गरेको छ।
यसअघि नै रास्वपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा जनक सिंह धामी र क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र सिंह महतलाई पनि सर्वसम्मत रूपमा सिफारिस गरिसकेको छ।