स्व.प्रकाश स्मृति अरनिको कप संघर्ष र परिवर्तनको प्रतीक : पूर्वमन्त्री मगर

होमपेज / खेलकुद / समाचार /
आयाेजककाे लगातार दाेस्राे जित
स्व.प्रकाश स्मृति अरनिको कप संघर्ष र परिवर्तनको प्रतीक : पूर्वमन्त्री मगर
  • चन्द्रिका चौधरी
  • २५ पुष २०८२ (६ दिन अघि)
  • १९६

पुनर्वास, कञ्चनपुर -

कञ्चनपुरको पुनर्वास नगरपालिका २ मा अरनिको युवा क्लबद्वारा आयोजित सातौँ संस्करण स्वर्गीय प्रकाश दाहाल स्मृति अरनिको सैनिक कप बिहीबार सम्पन्न भएको छ।

फाइनल खेलमा आयोजक अरनिको युवा क्लबले न्यू भानु युवा क्लबलाई पराजित गर्दै लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हाे।

स्वर्गीय प्रकाश दाहालकी धर्मपत्नी तथा पूर्वमन्त्री बीना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल खेलमा आयोजक टोलीले न्यू भानु युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै घरेलु मैदानमै उपाधि हासिल गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मगरले खेलकुदलाई केवल मनोरञ्जन वा प्रतिस्पर्धाको विषयका रूपमा सीमित गर्न नहुने बताइन्। उनले खेलकुद युवालाई अनुशासन, नेतृत्व, सामाजिक जिम्मेवारी र राष्ट्रप्रतिको प्रतिबद्धतासँग जोड्ने वैचारिक माध्यम भएको उल्लेख गरिन्।

उनले भनिन्, “खेलकुद एउटा खेल मात्र होइन, यो राष्ट्र निर्माणको आधार हो। आजको युवा पुस्तालाई अनुशासित, जिम्मेवार र देशप्रति सचेत बनाउने सबैभन्दा प्रभावकारी माध्यम खेलकुद नै हो।

यदि राज्यले खेलकुदलाई दीर्घकालीन राजनीतिक दृष्टिकोणसहित अघि बढायो भने युवालाई विदेश पलायन होइन, देश निर्माणतर्फ डोर्‍याउन सकिन्छ।”

पूर्वमन्त्री मगरले स्वर्गीय प्रकाश दाहालको स्मृतिमा निरन्तर आयोजना हुँदै आएको अरनिको सैनिक कपलाई स्मृति, संघर्ष र परिवर्तनको प्रतीक का रूपमा व्याख्या गरिन्।

“स्वर्गीय प्रकाश दाहाल केवल एउटा व्यक्तित्व मात्र होइन, परिवर्तन, त्याग र राजनीतिक चेतनाको प्रतीक हुनुहुन्थ्यो। उहाँको नाममा सञ्चालन भइरहेको यो प्रतियोगिताले युवामा सामाजिक न्याय, समानता र राष्ट्रिय एकताको भावना जागृत गरिरहेको छ,” उनले भनिन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय तहलाई प्राप्त अधिकार र जिम्मेवारीको चर्चा गर्दै खेलकुद विकासमा स्थानीय सरकारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

“संविधानले स्थानीय तहलाई अधिकार दिएको छ, अब त्यसको सार्थक प्रयोग आवश्यक छ। खेलमैदान, प्रशिक्षण केन्द्र र नियमित प्रतियोगिता सञ्चालन स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ,” मन्त्री मगरको भनाइ थियो।

बीना मगरले राजनीतिक अस्थिरता, बेरोजगारी र सामाजिक विकृतिको असर सबैभन्दा बढी युवामा परेको उल्लेख गर्दै खेलकुदले त्यसको समाधानमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्।

“जब युवालाई रोजगारी, अवसर र उद्देश्य दिइँदैन, तब उनीहरू निराश बन्छन्। निराश युवाबाट राष्ट्र कमजोर हुन्छ। खेलकुदले युवालाई लक्ष्य दिन्छ, पहिचान दिन्छ र भविष्यप्रतिको आशा जगाउँछ,” उनले जोड दिइन्।

फाइनल खेलमा आयोजक अरनिको युवा क्लबका लागि खेलको १६औँ मिनेटमा श्याम बयाडी, ५२औँ मिनेटमा रोहित तामाङ र ६१औँ मिनेटमा विकास थापाले गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

उपविजेता न्यु भानु युवा क्लबका लागि ५३औँ मिनेटमा अविनाश ऐदीले सान्त्वना गोल फर्काए पनि बाँकी समयमा थप गोल गर्न नसक्दा भानु क्लब उपविजेतामा सीमित रह्यो।

फाइनल खेलको म्यान अफ दि म्याच आयोजक टोलीका विकास थापा घोषित भए। प्रतियोगिताका अधिकांश व्यक्तिगत विधामा समेत आयोजक अरनिको युवा क्लबकै वर्चस्व रह्यो।

जसअन्तर्गत:
अनुशासित खेलाडी: निखिल दोङ तामाङ
सर्वाधिक गोलकर्ता: श्याम बयाडी
उत्कृष्ट डिफेन्डर: दिपेन सिंह ठकुरी
उत्कृष्ट गोलरक्षक: दिनेश नेपाली
उत्कृष्ट तथा उदयीमान खेलाडी: विकास थापा मगर

उक्त प्रतियोगितामा कञ्चनपुर जिल्लाका १५ वटा प्रतिष्ठित टोलीहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेता बनेसँगै आयोजक अरनिको युवा क्लबले नगद रु. २ लाख ६१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता न्यु भानु युवा क्लबले नगद रु. १ लाख ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षाकर्मी तथा सयौं दर्शकको उपस्थितिमा सम्पन्न प्रतियोगिताले पुनर्वास क्षेत्रमा खेलकुदलाई सामाजिक एकता, राजनीतिक चेतना र युवाको भविष्यसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित गरेको आयोजकको भनाइ छ।

अन्तिम अध्यावधिक: २५ पुष २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस