दिनेश चाैधरी/ बेलौरी, कञ्चनपुर —
“राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हामार अभियान” भन्ने मूल नाराका साथ बेलौरीमा चारदिने माघ मेला २०८२ शनिबार भव्य रूपमा उद्घाटन गरिएको छ।
माघी पर्वको अवसर पारेर आयोजना गरिएको उक्त मेलाको उद्घाटन नेपाल सरकारकी पूर्व खानेपानी मन्त्री बिना मगरले गर्नुभएको हो।
माघी नेतृत्व, पहिचान र लोकतान्त्रिक संस्कारको प्रतीक
उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री मगरले माघी पर्वलाई थारु र मगर समुदायको नयाँ वर्ष मात्र नभई समाजमा न्यायपूर्ण नेतृत्व, पहिचान र लोकतान्त्रिक संस्कारको प्रतीकको रूपमा व्याख्या गर्नुभयो।
“थारु समुदायमा भलमन्सा चयन गर्ने परम्परा आफैंमा लोकतन्त्रको उत्कृष्ट अभ्यास हो। जहाँ सेवा, इमान र जनविश्वासको आधारमा नेतृत्व चयन गरिन्छ। यही मूल्य आजको राजनीतिमा पनि चाहिन्छ,” उहाँले भन्नुभयो।
माघी पर्वले विगतबाट नयाँ जिम्मेवारी र नयाँ संकल्पका साथ अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्दै मगरले थारु र मगर समुदायले सदियौँदेखि यही मूल्यलाई आत्मसात गर्दै आएको बताउनुभयो।
उहाँले थारु समुदाय ऐतिहासिक रूपमा भूमि, भाषा, अवसर र पहिचानका सवालमा पछि पारिँदै आएको भएपनि आफ्नो पार्टीले निराशा चाैधरी जस्ता याेद्धालाई समानुपातिककाे पहिलो सूचीमा राखेको बताउनुभयो। उहाँले राज्यले व्यवहारिक रूपमा समानता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
आफू कञ्चनपुरकै छोरी–चेली भएको स्मरण गराउँदै पूर्वमन्त्री मगरले यहाँको विकाससँग गहिरो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो।
“मैले यहीँको माटोमा हुर्केर यहाँका पीडा र सम्भावनालाई नजिकबाट बुझेकी छु, गरेकी छु। कञ्चनपुर मेराे सारा संसार हाे।, यदि यहाँका जनताले भरोसा गर्नुभयो भने म फेरि पनि कञ्चनपुर क्षेत्र विकासको नेतृत्व लिन तयार छु,” उहाँले स्पष्ट पार्नुभयो।
श्रीपुर अस्पताललाई ५० शय्यामा विस्तार गर्ने पहल
कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले माघी पर्वको शुभकामना दिँदै बेलौरीस्थित श्रीपुर अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गर्न पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले स्वास्थ्य सेवा विस्तारलाई क्षेत्र विकासको मेरुदण्ड भन्दै विकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनु भयाे।
थारु समुदायका लागि भलमन्सा ऐन
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले थारु समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले भलमन्सा ऐन जारी गरेको बताउँदै, थारु समुदाय वर्षौँदेखि राज्य संरचनाबाट पछाडि पारिँदै आएको उल्लेख गरे।, यद्यपि नगर प्रमुख चाैधरीले आफू थारु समुदायको हकहितका लागि निरन्तर संघर्ष गरिरहेको दाबी गरेका छन्।
उहाँले कसैले पनि गरेको काम र विकासलाई गर्याे भन्न सक्नुपर्छ, पूर्वाग्रहीकाे राजनीति गर्नुहुँदैन भन्दै टिप्पणी गर्नुभयो।,
नगर उपप्रमुख जोगराम चौधरी, बुद्धिजीवी प्रेम सिंह बोहरा, विभिन्न वडाध्यक्षलगायत वक्ताहरूले माघी पर्वलाई सामाजिक एकता, पहिचान र समावेशी विकासको प्रतीकको रूपमा व्याख्या गर्दै शुभकामना व्यक्त गरेका थिए।
राजनीतिक, सामाजिक र नागरिक सहभागिता
कार्यक्रममा नेकपा नेतृ दीपा चौधरी, नेपाली कांग्रेस नेता पेपुराम चौधरी, राप्रपा नेता सूर्यबहादुर शाहीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
यहीँ पौष २९ गतेसम्म सञ्चालन हुने माघ मेलामा थारु समुदायको मौलिक कला, संस्कृति र पहिचान झल्किने परम्परागत परिकार, हस्तकला तथा सांस्कृतिक प्रदर्शनीका साथै स्थानीय र राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन्।
कार्यक्रमका सभापति तथा बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले उद्घाटन समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।