बेलौरी, कञ्चनपुर —
नेपाली काँग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि गोपीप्रसाद उपाध्यायलाई टिकट मिलेको छ।
पार्टी केन्द्रले सोमबार औपचारिक रूपमा टिकट प्रदान गरेसँगै उपाध्यायको उम्मेदवारी टुंगिएको हो।
काँग्रेस कञ्चनपुर क्षेत्रीय सभापति रहेका उपाध्याय गगन थापा नेतृत्वको काँग्रेस निकट महाधिवेशन प्रतिनिधिसमेत हुन्।
लामो समयदेखि पार्टी संगठन विस्तार र सुदृढीकरणमा सक्रिय रहँदै आएका उनलाई संगठनात्मक क्षमता, राजनीतिक परिपक्वता र जनस्तरको विश्वासका आधारमा उम्मेदवार बनाइएको काँग्रेस नेताहरूले बताएका छन्।
नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन सुरु गरेका उपाध्याय नेविसंघ कञ्चनपुरका पूर्व सभापति हुन्। उनले दुई कार्यकालसम्म कञ्चनपुर क्षेत्र नम्बर–१ को नेतृत्व गर्दै पार्टीलाई आधारभूत तहसम्म बलियो बनाउन भूमिका खेलेका छन्।
क्षेत्र नम्बर–१ मा काँग्रेसबाट उपाध्यायसँगै नेता भरत विष्टको नाम पनि उम्मेदवारका रूपमा चर्चामा रहेपनि अन्ततः पार्टीले उपाध्यायकै पक्षमा निर्णय गरेको बताइएको छ।