कञ्चनपुर क्षेत्र नम्बर १ मा १९ जनाको उम्मेदवारी, चुनावी माहोल तरंगित

होमपेज / राजनीति / समाचार /
कञ्चनपुर क्षेत्र नम्बर १ मा १९ जनाको उम्मेदवारी, चुनावी माहोल तरंगित
  • रेडियो सुदूर सञ्चार
  • ६ माघ २०८२ (२ हप्ता अघि)
  • २५५

बेलौरी, कञ्चनपुर —

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लिएर राजनीतिक तापक्रम तीव्र रूपमा बढ्दै गएको छ।

विभिन्न विचारधारा, पृष्ठभूमि र राजनीतिक यात्राबाट आएका उम्मेदवारहरूको उपस्थितिले यस क्षेत्रको चुनावलाई थप रोचक र अर्थपूर्ण बनाएको छ।

निर्वाचन कार्यालयका अनुसार मंगलबार १५ राजनीतिक दल र ४ स्वतन्त्र उम्मेदवार गरी कुल १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

जस अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार बिना मगरले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। पूर्वमन्त्री समेत रहेकी मगरको उम्मेदवारी दर्तासँगै क्षेत्र नम्बर १ को चुनावी माहोल तरंगित बनेको छ।

भने, नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, नेकपा एमालेबाट तारा लामा तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनक सिंह धामी, नेकपा माओवादी केन्द्रबाट पुरन रानाथारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिल्ली बहादुर शाही र नागरिक उन्मुक्ति पार्टी नेपालबाट कृष्ण चौधरीजस्ता स्थापित दलका उम्मेदवारहरू पनि चुनावी मैदानमा उत्रिएका छन्।

यी उम्मेदवारहरूबीचको प्रतिस्पर्धाले मुख्य दलहरूबीचको शक्ति परीक्षणलाई अझ चर्काउने संकेत देखिएको छ।

यस्तै, नेपाल मजदुर किसान पार्टीबाट कटक बहादुर शाही, राष्ट्रिय जनमोर्चा पार्टीबाट राजाराम चौधरी, मंगोल नेशनल अर्गिनाइजेशन पार्टीबाट होम बहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट देपेन्द्र बहादुर शाही, उज्यालो नेपाल पार्टीबाट माइकल तामाङ तथा आम जनता पार्टीबाट सिता विकले पनि मतदातामाझ आफ्ना एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा सहभागिता जनाएका छन्।

त्यसैगरी संयुक्त नागरिक पार्टीबाट दानियल विक र मितेरी पार्टी नेपालबाट सियाराम रानाले उम्मेदवारी दर्ता गराएका छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा यादव सिंह, अनिल राना, रुपादेवी बिष्ट र मञ्जुदेवी सुनारले निर्वाचनमा आफ्नो स्वतन्त्र दाबी प्रस्तुत गरेका छन्।

धेरै दल, फरक–फरक राजनीतिक विचार र स्वतन्त्र उम्मेदवारहरूको उल्लेखनीय उपस्थितिले कञ्चनपुर क्षेत्र नम्बर १ को निर्वाचनलाई बहुआयामिक प्रतिस्पर्धामा रूपान्तरण गरेको छ।

अब मतदाताहरूले विकास, सुशासन, पहिचान र स्थानीय मुद्दामाथि कसको दृष्टिकोण प्रभावकारी छ भन्ने आधारमा निर्णय गर्ने भएकाले आगामी दिनहरूमा चुनावी बहस र गतिविधि अझ तीव्र हुने अपेक्षा गरिएको छ।

अन्तिम अध्यावधिक: ६ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस