जेन–जी पुस्ताको भावना र अपेक्षा अनुसार काम गर्ने : जनक सिंह धामी

होमपेज / राजनीति / समाचार /
भ्रष्टाचारमा शून्य सहनशीलता
जेन–जी पुस्ताको भावना र अपेक्षा अनुसार काम गर्ने : जनक सिंह धामी
  • रेडियो सुदूर सञ्चार
  • ७ माघ २०८२ (२ हप्ता अघि)
  • ४३५

बेलौरी, कञ्चनपुर —

जेन–जी पुस्ताको बदलिँदो सोच, रोजगारीका अवसर, प्रविधिमैत्री सेवा, पारदर्शी शासन र परिणाममुखी राजनीतिक अभ्यासको मागलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामी कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा औपचारिक रूपमा चुनावी मैदानमा उत्रिएका छन्।

मंगलबार ‘घण्टी’ चुनाव चिन्हका उम्मेदवार धामीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो।

मनोनयनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै धामीले कञ्चनपुर क्षेत्र नम्बर–१ ले अब टुक्राटुक्रा विकास होइन, सर्वाङ्गीण र दिगो विकासको स्पष्ट मार्गचित्र खोजिरहेको बताउनुभयो।

“यस क्षेत्रका समस्या सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र अवसरसँग गाँसिएका छन्। यी सबै विषयलाई एउटै समग्र दृष्टिकोणबाट अघि बढाउन आवश्यक छ,” उहाँले भन्नुभयो।

जेन–जी पुस्ताको भावना र अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै धामीले आधुनिक शिक्षा प्रणाली, सीपमूलक तालिम, स्थानीयस्तरमै रोजगारी सिर्जना, डिजिटल सेवा विस्तार र युवालाई उद्यमशीलतामा जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताउनुभयो।

“आजको युवा पुस्ता भाषण होइन, परिणाम खोजिरहेको छ। म संसदमा यही पुस्ताको आवाज बुलन्द बनाउनेछु,” उहाँको भनाइ थियो।

धामीका अनुसार कञ्चनपुर–१ को सर्वाङ्गीण विकास का लागि कृषि उत्पादनलाई बजारसँग जोड्ने, सिँचाइ र भण्डारण सुविधा विस्तार गर्ने, ग्रामीण सडक सञ्जाल सुदृढ बनाउने, गुणस्तरीय स्वास्थ्य सेवा गाउँसम्म पुर्‍याउने र सामुदायिक विद्यालयको स्तर उकास्ने दीर्घकालीन योजना आवश्यक छ।

रास्वपाले अघि सारेको पारदर्शिता, जवाफदेहिता र नागरिक–केन्द्रित शासन प्रणाली कञ्चनपुर–१ को विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता, बजेटको प्रभावकारी उपयोग र जनताको प्रत्यक्ष सहभागितामार्फत विकास प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाउनुभयो।

कञ्चनपुर–१ मा लामो समयदेखि दोहोरिँदै आएका पुराना दल र पुराना अनुहारबीच यसपटक जनक सिंह धामीको उम्मेदवारीलाई स्थानीय तहदेखि केन्द्रसम्म विकासको नयाँ दृष्टिकोण बोकेको वैकल्पिक राजनीतिक प्रस्तावका रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, पुरानो प्रणालीलाई चुनौती दिँदै जेन–जी पुस्ताको ऊर्जा र सर्वाङ्गीण विकासको एजेन्डालाई एकसाथ अघि सारेको रास्वपाको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनलाई थप अर्थपूर्ण र प्रतिस्पर्धात्मक बनाएको छ।

अन्तिम अध्यावधिक: ७ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस