बेलौरी, कञ्चनपुर –
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका तारालामा तामाङले आफूले सुरु गरेका अधुरा कामहरू पूरा गर्ने दृढ संकल्प गरेका छन्।
बुधबार पत्रकारसँगको टेलिफोन संवादमा तामाङले भने, “जनताले मलाई दिएकाे जिम्मेवारीलाई अधूरो छोड्न सक्दिनँ। नयाँ थप्ने र बाँकी रहेका कामहरू पूरा गर्ने उद्देश्यले फेरि निर्वाचन मैदानमा उत्रिएको छुँ। पहिले प्रदेश मन्त्री रहँदा पनि धेरै विकासका कार्यहरू सुरु गरेकोे थिए, तर अझै धेरै गर्न बाँकी छ।”
उहाँले कञ्चनपुर क्षेत्रको सर्वाङ्गिण विकासमा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै बेलडाँडी झिलमिलाको सिमसार क्षेत्र संरक्षण, दोदा कटान, सीमा समस्या समाधान, सडक स्तरोन्नति, पूर्वाधार विकास र बस्ती विकासमा विशेष ध्यान दिनुपर्ने बताए।
तामाङले खुला सीमाका कारण दैनिक जीवनमा परेको असर र अखाद्य वस्तुको प्रयोग नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “सीमामा अनियन्त्रित गतिविधिहरूले जनताको स्वास्थ्य र जीवनस्तरमा प्रत्यक्ष असर पारिरहेको छ। यसतर्फ तुरुन्त ध्यान दिन आवश्यक छ।”
ट्राफिक नियमको पालना, सीमा सुरक्षा व्यवस्थापन र युवाहरू लागूऔषध सेवनका शिकार बन्ने क्रम रोक्न राज्यको सक्रिय नीति आवश्यक रहेको भन्दै उनले यसबारे पनि आफ्नो व्यवहारिक धारणा व्यक्त गरे।
निवर्तमान सांसद तामाङले भन्सार नाका विस्तार संगै देशको आर्थिक नीति सुधार्नु पर्ने उल्लेख गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ विकासको दीर्घकालीन रणनीति तयार गर्न आफू सधैं तत्पर रहेको बताए।
प्रतिनिधि सभा सदस्य उम्मेदवार तामाङले “सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारसँगै युवाहरूका लागि रोजगार सिर्जना, महिला सशक्तिकरण र स्थानीय तह संगको समन्वय पारदर्शिता सुनिश्चित गर्नु पर्ने बताए। उनलेे भने, मेरा योजनाहरू यी सबै पक्षलाई समेटेर अघि बढ्नेछन्।”