कञ्चनपुर -
कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार बीना मगरविरुद्ध विदेशबाट झुटा प्रचारबाजी भइरहेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ।
नेकपाका अनुसार उम्मेदवार मगरप्रति क्षेत्रका जनता आकर्षित भइरहेका बेला विपक्षी दल तथा केही समूहले विदेशमा रहेका व्यक्तिहरूमार्फत दुष्प्रचार फैलाउने प्रयास गरेका छन्।
निर्वाचन क्षेत्र नं. १ निर्वाचन परिचालन समितिले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ‘मिन गुरुङ’ नामक फेसबुक खाताबाट उम्मेदवारविरुद्ध झुटा प्रचारबाजी गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा आउँदो २०८२ फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने उल्लेख गर्दै देशभर चुनावी वातावरण बनिरहेको र संविधान तथा लोकतन्त्रमा विश्वास गर्ने दलहरू चुनावी प्रतिस्पर्धामा रहेको बताइएको छ।
“यसै सन्दर्भमा हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट महिला नेतृ बीना मगरज्यू कञ्चनपुर क्षेत्र नं. १ बाट उम्मेदवार हुनु आम जनतालाई जानकारी भएकै विषय हो,” विज्ञप्तिमा भनिएको छ।
पार्टीका अनुसार उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी अभियानमा होमिएको समयमा समाजिक सञ्जालमार्फत झुटा आरोप लगाइएको भिडियो केही सञ्चार माध्यमका पेजबाट समेत शेयर गरिएको विषयले पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
बीना मगरको बेल्जियममा पाँच वटा रेस्टुरेन्ट रहेको भन्ने प्रचार पूर्णतः कपोकल्पित, मिथ्या र प्रायोजित दुष्प्रचार भएको नेकपाले स्पष्ट पारेको छ।
नेकपाले जनलहर बढिरहेका बेला केही प्रतिक्रियावादी समूहले विदेशमा रहेका नेपालीलाई उक्साएर हुँदै नभएका भ्रमपूर्ण प्रचारबाजी गरिरहेको आरोप लगाएको छ।
पार्टीले कुनै तथ्य, प्रमाण र आधारबिनै केही सञ्चार माध्यमले यस्ता सामग्री प्रसारण गर्नुले नेपाली सञ्चार जगतको विश्वसनीयता र गरिमामा समेत असर पर्ने ठहर गरेको छ।
यसरी उम्मेदवारविरुद्ध विदेशबाट दुष्प्रचार गराउने कार्यको घोर निन्दा तथा भर्त्सना गर्दै निर्वाचन क्षेत्र नं. १ का संयोजक देवीलाल चौधरीद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ।
अन्यथा कानुनी प्रक्रियामा जाने चेतावनी दिँदै पार्टी तथा उम्मेदवारविरुद्ध फैलाइएका भ्रम र दुष्प्रचारमा विश्वास नगर्न क्षेत्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोध गरिएको छ।
नेकपाले बीना मगर यसअघि २०७४ मा निर्वाचित भई खानेपानी मन्त्री हुँदा तथा त्यसअघिदेखि नै जनताको सेवामा सक्रिय रहँदै आएको समेत जनाएको छ।