बेलौरी : भ्रष्टाचारविरुद्ध बाेहराकाे आमरण अनसन

होमपेज / समाचार /
१३ बुँदे मागसहित भीमदत्त चोकमा धर्ना
बेलौरी : भ्रष्टाचारविरुद्ध बाेहराकाे आमरण अनसन
  • रेडियो सुदूर सञ्चार
  • २१ माघ २०८२ (८ घण्टा अघि)
  • १७४

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरीमा सुशासनको माग राख्दै मंगलबारदेखि एक स्थानीय युवा आमरण अनसनमा बसेका छन्।

“युवा जागौँ, सुशासन कायम गरौँ” र “जनताको कर, जनताको अधिकार” भन्ने मूल नारासहित बेलौरी बजारको भीमदत्त चोकस्थित पिपल चौतारामा एक स्वतन्त्र युवा केशव कुमार बोहरा आमरण अनसनमा बसेका हुन्।

नगरपालिकाभित्र विभिन्न क्षेत्रमा देखिएको बेथिति अन्त्य गरी सुधारको माग गर्दै उनले सार्वजनिक गरेको १३ बुँदे मागपत्रमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सुशासनका विषयलाई प्रमुख प्राथमिकताका साथ उठाइएको छ।

बोहराले प्रस्तुत गरेका मागहरू यस प्रकार रहेका छन्—

१. शिक्षा क्षेत्रमा सुधार: शिक्षा क्षेत्रमा बजेट, दिवा खाजा, नियुक्ति तथा व्यवस्थापनमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गरी पारदर्शी शिक्षा प्रणाली लागू गरियोस् तथा विद्यालय व्यवस्थापनमा राजनीतिक हस्तक्षेप अन्त्य गरियोस्।
२. नि:शुल्क स्वास्थ्य सेवा: नगर अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि, जनशक्ति र सेवामा भएको बेथिति अन्त्य गरी नि:शुल्क गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरियोस्।

३. खानेपानी व्यवस्था: खानेपानी आयोजनामा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी नगरभित्रका सबै घरधुरीमा सुरक्षित खानेपानीको व्यवस्था गरियोस्।

४. कृषि सेवा सुधार: किसानका नाममा आएको अनुदान, बीउबिजन तथा मलखादमा भएको दुरुपयोग रोक्दै वास्तविक किसानलाई मात्र सेवा उपलब्ध गरियोस्।

५. खेलकुद तथा युवा कार्यक्रम: खेलकुद बजेटको दुरुपयोग रोक्दै युवामैत्री संरचना र कार्यक्रम पारदर्शी रूपमा सञ्चालन गरियोस्। प्रत्येक वडामा खेलमैदान निर्माण, योग्यताको आधारमा समिति नियुक्ति तथा राजनीतिक हस्तक्षेप अन्त्य गरियोस्।

६. बजार अनुगमन: बजारमा हुने कालोबजारी, नापतौल ठगी तथा म्याद गुज्रेका वस्तु बिक्री रोक्न प्रभावकारी बजार अनुगमन गरियोस्।

७. बालबालिका संरक्षण: १८ वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्ने कार्य पूर्ण रूपमा निषेध गरियोस्।

८. कानुनी कारबाही: सूचनाको हक हनन गर्ने पदाधिकारी तथा कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गरियोस्।

९. कर्मचारी व्यवस्थापन: स्वीकृत दरबन्दी बाहेक कानुन र प्रक्रिया मिचेर अनियमित रूपमा नियुक्त गरिएका सम्पूर्ण करार कर्मचारीहरूलाई तत्काल हटाइयोस्।

१०. सडक मर्मत: बेलौरी नगरपालिकामा अलपत्र परेका सम्पूर्ण सडक यथाशीघ्र मर्मतसम्भार गरियोस्।

११. ढल निकास व्यवस्थापन: अलपत्र परेको सरसफाइ तथा ढल निकासको दीर्घकालीन व्यवस्थापन गरियोस्।

१२. सार्वजनिक सम्पत्ति संरक्षण: निर्माण सम्पन्न सार्वजनिक सम्पत्तिको संरक्षण गरी सञ्चालनमा ल्याइयोस्।

१३. युवा स्वरोजगार: युवालाई रोजगारी, उद्यमशीलता र आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरियोस्।

अनसनकारी बोहराका समर्थकहरुले माथि उल्लेखित मागहरू तत्काल सम्बोधन नभए थप संघर्ष गर्ने चेतावनी समेत दिएका छन्। 

अन्तिम अध्यावधिक: २१ माघ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस