बेलौरी, कञ्चनपुर —
कञ्चनपुरको बेलौरीमा भ्रष्टाचारविरुद्ध १३ बुँदे माग राख्दै विगत चार दिनदेखि आमरण अनसनमा बसेका स्वतन्त्र युवा केशव कुमार बोहरा र बेलौरी नगरपालिकाबीच शुक्रबार ३ बुँदे सहमति भएको छ। सहमतिपछि बोहराले अनसन तोडेका छन्।
बेलौरी नगरप्रमुख पोतीलाल चौधरी, कञ्चनपुर प्रमुख जिल्ला अधिकारी मदन कोइराला, प्रहरी उपरीक्षकद्वय खड्कबहादुर खत्री र प्रकाशराज सिग्देल, प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी सहित सरोकारवालाबीच भएको वृहत् छलफलपछि लिखित सहमति जुटेको हो।
अनसनरत बोहराले शिक्षामा सुधार, करार कर्मचारी खारेजी, स्वास्थ्य सेवामा पारदर्शिता, खानेपानी तथा कृषि अनुदानमा भएको अनियमितताको छानबिन लगायत १३ बुँदे माग अघि सारेका थिए।
नगरपालिकाको कार्यालयमा सम्पन्न वार्तापछि निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै तत्काल कार्यान्वयन योग्य मुख्य ३ बुँदामा सहमति गरिएको छ।
सहमति अनुसार बजारमा हुने कालोबजारी, ठगी तथा म्याद गुज्रेका वस्तुको बिक्री नियन्त्रण गर्न नियमित तथा आकस्मिक बजार अनुगमन गरिने र दोषीमाथि कानुनी कारबाही अघि बढाइने उल्लेख छ।
यस्तै, १८ वर्ष मुनिका बालबालिकालाई मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्ने व्यवसायीको इजाजतपत्र खारेजीसम्मको प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख गरिएको छ।

भने, बाँकी मागहरूका सवालमा आसन्न निर्वाचन सम्पन्न भएपछि सम्बन्धित पक्षहरूसँग छलफल गरी समाधानकाे प्रयास गरिने जनाइएको छ।
सहमति पत्रमा नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर बुढाथोकी र अनसनकर्ता केशव कुमार बोहराले हस्ताक्षर गरेका छन्। वार्तामा सुरेश वडु, नरेश पाण्डेय, रुपेश आचार्य र यादव सिंहलगायतले सहजीकरण गरेका थिए।
नगरपालिकाले सहमतिमा उल्लेखित विषयहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएपछि बोहराले अनसन तोडेका हुन्। उनले बाँकी मागहरू सम्बोधन गर्न आग्रह गर्दै नभए माइतीघर मण्डलासम्म जाने चेतावनी दिएका छन्।
यसैबीच, बेलाैरी नगरप्रमुख चौधरीले साझा संवाद र सहमतिका माध्यमबाट समस्याको समाधान सम्भव हुने विश्वास व्यक्त गरेका थिए।
