बेलौरी (कञ्चनपुर) –
यहीँ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारहरूबीच ‘प्रत्यक्ष संवाद (ककस)’ कार्यक्रम सम्पन्न भएको छ।
शनिबार बेलाैरीमा JCI महेन्द्रनगरको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे।
दिउँसो २ बजेदेखि उद्योग वाणिज्य संघको सभाहलमा सुरु भएको कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका १९ जना मध्ये ६ जना मात्रै कार्यक्रममा सहभागी भएका थिए।,
बाक्लो जन-सहभागीता रहेको कार्यक्रममा अन्य ११ जना उम्मेदवार विभिन्न कारणवश उपस्थित हुन नसकेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार गोपी प्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामी, प्रगतिशील लोकतान्त्रिक पार्टीका दीपेन्द्र बहादुर शाही, राष्ट्रिय जनमोर्चाका राजाराम डगौरा, स्वतन्त्र उम्मेदवार यादव सिंह तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार कटक बहादुर शाहीको सहभागिता रहेको थियो।
‘ककस (Caucus)’ मोडेलमा आधारित उक्त कार्यक्रममा सहभागी उम्मेदवारहरूले आफ्नो चुनावी एजेन्डा, विकास योजना, प्राथमिक क्षेत्र तथा निर्वाचित भएमा अघि सार्ने नीति–कार्यक्रमबारे धारणा राखेका थिए।
कृषि आधुनिकीकरण, सीमा समस्या समाधान, बेलाैरौ मूल भन्सार नाका स्थापना, युवा रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सुशासन जस्ता विषयमा बाचा प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रममा सहभागी मतदाता, नागरिक समाज तथा विभिन्न पेशागत संघ–संस्थाका प्रतिनिधिहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गरेका थिए।
यता, संवादमा क्षेत्र विकासकाे ठोस योजना, बजेट सुनिश्चितता, भ्रष्टाचार नियन्त्रणका उपाय तथा सार्वजनिक प्रतिबद्धताको कार्यान्वयन आधार के भन्ने बारे सहभागीहरुले जिज्ञासा राखे।,
भने उता, प्रश्नकाे जवाफ दिँदै उम्मेदवारहरूले आफ्नो राजनीतिक दृष्टिकोण, याेजना र प्राथमिकता प्रष्ट पार्ने प्रयास गरेका थिए।
मतदाता र उम्मेदवारबीच प्रत्यक्ष संवादको संस्कृति विकास गर्नु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै सह-आयोजक एवम् एनएनएसडब्लुए का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले - "यस्ता कार्यक्रमले निर्वाचन प्रक्रियालाई व्यक्तिकेन्द्रित भन्दा एजेन्डा मुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।,
“परिवर्तित विश्वका लागि नेतृत्व विकास” भन्ने मूल नारासहित ‘Voices That Shape The Nation’ थिममा केन्द्रित कार्यक्रमले स्थानीय राजनीतिक बहसलाई रचनात्मक बनाउने प्रयास गरेको जनाइएको छ।
JCI अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन न्यूज२४ का चर्चित पत्रकार वीरेन्द्र जैरुले गरेका थिए।
सहभागीहरूले यस्तो खुला संवादले मतदातालाई निर्णय लिन सहयोग पुग्ने तथा उम्मेदवारहरूलाई जनताप्रति थप जवाफदेही बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।