बेलौरी, कञ्चनपुर -
महाशिवरात्रि पर्वलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय बेलौरीले ऐतिहासिक कालिका मन्दिर परिसरमा सरसफाइ गरेको छ।
बेलाैरीकाे एक धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित कालिका मन्दिर परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको मन्दिर समितिले जनाएको छ।
कालिका मन्दिर निर्माण समिति संयोजक प्रकाशराज पन्तका अनुसार बेलौरी क्षेत्रमा कार्यरत म्यादी प्रहरीको सक्रिय सहभागितामा मन्दिर वरपरका झारपात हटाउने, प्लास्टिक तथा अन्य फोहोर संकलन गर्ने र प्रवेश मार्ग सफा गर्ने कार्य गरिएको थियो।
शिवरात्रिको अवसरमा ठूलो संख्यामा श्रद्धालु भक्तजन मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भएकाले तयारीस्वरूप सरसफाइ गरिएको उनले बताए। सरसफाइ कार्यक्रममा स्थानीयहरुको समेत सहभागीता रहेको थियो।
सहभागीहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सबै पक्षको साझा दायित्व रहने उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।
बेलाैरी प्रहरीले समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।
पछिल्लो समय सार्वजनिक स्थलहरूको संरक्षण र स्वच्छतामा स्थानीय तह तथा सरोकारवाला निकायको सक्रियता बढ्दै गएको सन्दर्भमा बेलौरीको यो अभियानलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।