बेलौरी (कञ्चनपुर) –
विज्डम एकेडेमी स्कुल बेलाैरीद्वारा आयोजित ‘Wisdom Speaking Idol २०८२’ चाैथाे संस्करण भव्य रूपमा सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न प्रतियोगितामा प्रसिद्धी श्रेष्ठ प्रथम, दिपेश भट्ट द्वितीय र सौगात चन्दले तृतीय स्थान हासिल गरेका छन्।
विद्यालय प्राङ्गणमा सम्पन्न उक्त idol प्रतियोगितामा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत छात्र–छात्राहरूको उत्साहजनक सहभागीता रहेको थियो।
वक्तृत्व कला, आत्मविश्वास, प्रस्तुतिकरण शैली र विषयवस्तुको गहिराइका आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरिएको विद्यालयका प्रिन्सिपल गाेविन्द सिंह थापाले जनाए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक अध्यक्ष दिनेश कुँवरले यस्ता कार्यक्रमले विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले विद्यालयले शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा सार्वजनिक बोल्ने सीप विकासलाई पनि प्राथमिकतामा राख्दै यस्ता सिर्जनात्मक कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको उल्लेख गर्नुभयो।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। भने निर्णायक मण्डलले निष्पक्ष मूल्याङ्कन गरेको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा विकास र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि प्रकाश श्रेष्ठ, शिक्षा शाखा प्रमुख अमित प्रसाद भट्ट, शिक्षिका ललिता अवस्थी,समाजसेवी बुद्धिजीवी प्रेमसिंह बाेहरा सहित विद्यालयका शिक्षक विद्यार्थी एवम् अभिभावकहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो।