बेलाैरी, कञ्चनपुर —
कञ्चनपुर जिल्लाकाे बेलाैरीबाट विश्व प्रविधि मञ्चको यात्रा तय गर्दै २१ वर्षीया आयशा चौधरीले ऐतिहासिक सफलता हात पारेकी छिन्।
हालै विश्वप्रसिद्ध प्रविधि कम्पनी Google ले फुलटाइम सफ्टवेयर इन्जिनियर पदमा नियुक्त गरे संगै उनलेे ऐतिहासिक सफलता हात परेकी हुन्।
केही वर्षअघि कडा प्रतिस्पर्धाबीच Google मा सफ्टवेयर इन्टर्नशिपका लागि छनोट हुन सफल भएकी आयशाले आफ्नो प्रतिभा, लगनशीलता र कार्यकुशलताको बलमा पूर्णकालीन पद सुरक्षित गरेकी छन्।
याे सफलताले अब उनी सोही कम्पनीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्य गर्नेछिन्।
सिमावर्ती क्षेत्र बेलाैरीबाट विश्व मञ्चसम्म
कञ्चनपुरको बेलौरी ४ घर भएकी आयशा थारू समुदायकाे सामान्य पारिवारमा जन्म लिएकी युवती हुन्। सीमित अवसर र स्रोत–साधनबीच पनि निरन्तर अध्ययन र अभ्यासमार्फत उनले अन्तर्राष्ट्रिय स्तरको प्रविधि क्षेत्रमा आफ्नो स्थान बनाउन सफल भएकी छन्।
कम्प्युटर साइन्स रोजेर अध्ययन अगाडि बढाएकी उनले प्रारम्भिक शिक्षा विज्डम एकेडेमी, बेलौरीबाट एसईई उत्तीर्ण गर्दै पूरा गरिन्। त्यसपछि काठमाडौँबाट प्लस–टु अध्ययन सम्पन्न गरेकी उनले हाल भारतको हिमाञ्चल प्रदेशस्थित चित्काराबाट ब्याचुलर अफ इन्जिनियरिङ (कम्प्युटर इन्जिनियरिङ) अध्ययन गरिरहेकी छन्।
अध्ययनकै क्रममा उनले अन्तर्राष्ट्रिय इन्टर्नशिप प्रक्रियामा सहभागिता जनाउँदै आफ्नो क्षमता विश्वसामु प्रमाणित गरिन्।
परिवारमा खुसीको लहर
आयशा, बुवा लक्ष्मीनारायण चौधरी र आमा चिनरूपणी चौधरीका एकछाेरा/एकछाेरी मध्ये उनी कान्छी छोरी हुन्। छाेरा साैरभ चाैधरी पनि साेही विषय अध्ययनरत छन् ।
बेलौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका बुवा लक्ष्मीनारायण जुत्ता–चप्पल व्यवसाय हुन्।
छोरीको उपलब्धिप्रति प्रतिक्रिया दिँदै उनले रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा भने,
“आयशाले सानो ठाउँबाट पनि ठूलो सपना देख्न सकिन्छ र मेहनत गरे सफल हुन सकिन्छ भन्ने देखाइदिएकी छ। उसको सफलता हाम्रो परिवारका लागि मात्र होइन, सिंगो समुदायका लागि गर्वको विषय बनेको छ। यस्ता प्रतिभालाई पहिचान गरि सरकारले साथ सहयोग र हाैसला दिन सक्नु पर्दछ।”
प्रेरणादायी उदाहरण
आयशाको उपलब्धिले विशेषगरी प्रविधि क्षेत्रमा अघि बढ्न चाहने नेपाली युवतीहरूका लागि नयाँ प्रेरणा थपेको छ।
सिमावर्ती क्षेत्रबाट विश्वकै अग्रणी कम्पनीमा स्थान सुरक्षित गर्नु आफैंमा उल्लेखनीय उपलब्धि मानिन्छ। उनको सफलताले देखाएको छ— अवसर खोज्नुपर्ने हो भने, भौगोलिक सीमाले सम्भावनालाई रोक्दैन। निरन्तर अध्ययन, सीप विकास र आत्मविश्वास नै सफलता प्राप्त गर्ने मूल आधार हुन्।
कञ्चनपुरकी आयशा चौधरी आज विश्व प्रविधि क्षेत्रमा नेपाली युवाशक्तिको प्रतिनिधित्व गर्दै नयाँ पुस्ताका लागि आशाको किरण बनेकी छिन्। भने, उनलाई उतिबेला सबैले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।