कैलाली - नागरिक उन्मुक्ति पार्टी नेपालका जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि कैलाली क्षेत्र नम्बर ५ को चुनावी माहोल तरङ्गित बनेको छ।
अघिल्लो आम निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका चौधरी मङ्गलबार रास्वपा प्रवेश गरेका हुन्।
चौधरी समुदायमा बलियो पकड भएका चौधरीको प्रवेशलाई चुनावी अङ्कगणितका हिसाबले विशेष रूपमा हेरिएको छ।
उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली–५ मा उम्मेदवार बनेका थिए। उनले त्यतिबेला कैलाली क्षेत्र नम्बर ५ बाट पाँच हजार हाराहारीमा मत प्राप्त गरेका थिए।
आसन्न निर्वाचनमा कैलाली क्षेत्र ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका आनन्द बहादुर चन्दले चौधरी जस्तो परिपक्व नेतृत्व रास्वपालाई आवश्यक रहेको बताए। " हामीले थप बलियो भएको महसुस गरेका छौं," उनले भने ।