रमेश प्रसाद भट्ट / बेलाैरी, कञ्चनपुर -
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जनक सिंह धामी दोब्बर बढी मतान्तरसहित अग्रस्थानमा रहेका छन्।
मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिँदै आएका धामीले पुनर्वास र बेलडाँडी नगरपालिकाको मतगणना सकिएपछि बेलौरी १,२,३ वडाको मतगणनासम्म आइपुग्दा आफ्नो अग्रता थप फराकिलो बनाएका हुन्।
पछिल्लो मतगणना अनुसार हालसम्म ३२ हजार ४३१ मत गणना भइसकेको छ। उक्त मतपरिणाम अनुसार धामी १४ हजार ४४६ मत सहित अग्रस्थानमा रहेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार बीना मगर ले ५ हजार २०१ मत प्राप्त गरेकी छन्। धामीले मगरलाई ९ हजार २४५ मतको अन्तरले पछि पारेका छन्।
यसैगरी नेकपा एमालेका उम्मेदवार तारालामा तामाङ ले ४ हजार ९४६ मत, नेपाली काँग्रेसका उम्मेदवार गोपी प्रसाद उपाध्याय ले ४ हजार ९२५ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्ली शाही ले ९८६ मत तथा विप्लव नेतृत्वको नेकपा माओवादीका पुरन राना ले १८३ मत प्राप्त गरेका छन्।
पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका रास्वपाका नेता धामीले पूर्वमन्त्री मगर, पूर्वसांसद तामाङ तथा संविधानसभा सदस्य पुरन राना जस्ता अनुभवी नेताहरूलाई निकै पछि पारेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा ५० हजार १२३ पुरुष र ५१ हजार ५८८ महिला गरी कुल १ लाख १ हजार ७२४ मतदाता रहेका छन्। तीमध्ये ३३ हजार ४०३ पुरुष र २७ हजार ६७१ महिला गरी कुल ६१ हजार ७४ मत खसेको थियो, जुन ५९.७९ प्रतिशत मतदान हो।
हाल बेलाैरी नगरपालिकाकाे मतगणना जारीछ।यसपछि लालझाडी गाउँपालिकाकाे मतगणना सुरु हुनेछ निर्वाचन अधिकृत दामोदर घिमिरेले भने, - "आजै अन्तिम नतिजा सार्वजनिक हुनेछ।,