कञ्चनपुर -
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपकराज बोहरा भारी मतान्तरसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
बोहराले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १२५ मतान्तरले पराजित गर्दै पहिलो प्रयासमै सांसद बन्न सफल भएका हुन्।
निर्वाचन परिणामअनुसार बोहराले ३३ हजार ९५२ मत प्राप्त गरेका छन् भने साउदले १० हजार ८२८ मत प्राप्त गरेका छन्।
पहिलो पटक चुनावी मैदानमा उत्रिएका रास्वपाका युवा नेता बोहराले सातौँ पटक चुनाव लडेका तथा तीन पटक सांसद भई मन्त्रीसमेत बनिसकेका अनुभवी नेता साउदलाई पराजित गर्दै कञ्चनपुर–२ मा नयाँ राजनीतिक सन्देश दिएका छन्।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले ६ हजार ४१८ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का माधवप्रसाद पन्तले ६ हजार ३३७ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका छन्।
यसैगरी जनमत पार्टीका रामचन्द्र भट्टले १२५, नेपाल मजदुर किसान पार्टीका सीताराम रानलोले ७२, राष्ट्रिय जनमोर्चाका रामबहादुर सार्कीले १४५, संयुक्त नागरिक पार्टीका खडक ताम्राकारले ३२, मितेरी पार्टीका तेजबहादुर बडवालले १८, नेकपा (विप्लव) का लोकेन्द्र विकले १४३, उज्यालो नेपाल पार्टीका योगेश साउदले ९३, नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती रानाले ५६० तथा आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत प्राप्त गरेका छन्।
त्यसैगरी स्वतन्त्र उम्मेदवारहरू वीरेन्द्र रानाले ८१, भानुभक्त बोहराले ३६, सिद्धराज जोशीले १९ र हरिसबहादुर भट्टले ४४ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार योगेश साउदले मतदानको अन्तिम चरणतिर आएर रास्वपाका उम्मेदवार बोहरालाई समर्थन गरेका थिए।
निर्वाचन क्षेत्र नम्बर २ मा कुल १ लाख ९ हजार ५७४ मतदातामध्ये ६५ हजार ३४७ मत खसेका थिए। तीमध्ये ६१ हजार ११७ मत सदर भएका छन् भने ४ हजार २३० मत बदर भएका छन्।
निर्वाचन अधिकृत प्रकाश भण्डारीले निर्वाचित उम्मेदवार बोहरालाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिएका छन्।
यसैबीच विजयी भएपछि बोहराले सामाजिक सञ्जाल फेसबुकमार्फत कञ्चनपुर–२ का मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले आफूलाई दिएको मत व्यक्तिगत जित मात्र नभई परिवर्तन चाहने जनताको विजय भएको उल्लेख गरेका छन्।
उनले चुनावका क्रममा साथ, सहयोग र प्रेरणा दिने सम्पूर्ण मतदाता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै अब कञ्चनपुर–२ का जनताको समस्या समाधान, सुशासनको स्थापना र विकासको मार्गमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै जनताले दिएको मत परिवर्तनका लागि भएको उल्लेख गर्दै जनताको आवाज संसद्सम्म पुर्याउने र क्षेत्रको हितका लागि निरन्तर लागि पर्ने विश्वास व्यक्त गरेका छन्।
