बेलौरी, कञ्चनपुर —
कञ्चनपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन परिणामले यसपटकको राजनीतिक समीकरणलाई नयाँ मोड दिएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रभावशाली विजय हासिल गरेको छ।
स्थापित राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पार्दै रास्वपाले कञ्चनपुरमा पूर्ण विजय हासिल गरेको हो।
निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार जनकसिंह धामी २४ हजार ३ सय ३२ मतसहित निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार विना मगरलाई १३ हजार २ सय २२ मतान्तरले पराजित गरेका हुन्। मगरले ११ हजार १ सय १० मत प्राप्त गरिन्। यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू अपेक्षित मत ल्याउन नसक्दै क्रमशः तेस्रो र चौथो स्थानमा सीमित भएका छन्।
क्षेत्र नम्बर २ मा पनि रास्वपाको बलियो प्रभाव देखिएको छ। यहाँ रास्वपाका उम्मेदवार दीपक बोहरा ३३ हजार ९ सय ५२ मतसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदलाई २३ हजार १ सय २५ मतान्तरले पराजित गरेका हुन्। साउदले १० हजार ८ सय २७ मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार बचनबहादुर सिंह ६ हजार ४ सय १८ मतसहित तेस्रो स्थानमा सीमित भएका छन्।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि रास्वपाले विजय हासिल गरेको छ। यहाँ रास्वपाका उम्मेदवार ज्ञानेन्द्रसिंह महता २७ हजार १ सय १८ मतसहित विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिप्रसाद बोहरा ले ९ हजार ४ सय ४३ मत प्राप्त गरेका छन्। अन्य दलका उम्मेदवारहरू उल्लेख्य मत ल्याउन नसक्दै धेरै पछाडि परेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका केही उम्मेदवारले आवश्यक मत नपाउँदा जमानतसमेत जफत भएको छ। कञ्चनपुरमा कुल ३ लाख १४ हजार ३ सय ८५ मतदाता रहेकामा फागुन २१ गते सम्पन्न मतदानमा १ लाख ८४ हजार ३ सय १६ मत खसेको थियो।
यस परिणामलाई कञ्चनपुरको राजनीतिमा महत्वपूर्ण परिवर्तनको संकेतका रूपमा हेरिएको छ। लामो समयदेखि नेपाली कांग्रेस, नेकपा एमाले र अन्य परम्परागत दलहरूको प्रभाव रहेको जिल्लामा यसपटक मतदाताले फरक विकल्प रोजेको विश्लेषण गरिएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार युवापुस्ताको बढ्दो सहभागिता, सुशासनप्रतिको अपेक्षा र पुराना दलप्रति बढ्दो असन्तुष्टिले यस्तो परिणाम ल्याएको हुन सक्ने अनुमान गरिएको छ।
मतपरिणाम सार्वजनिक भएसँगै जिल्लाका विभिन्न स्थानमा रास्वपाका समर्थकहरूले उत्साह व्यक्त गरेका छन्। विजयी उम्मेदवारहरूले पनि मतदाताप्रति आभार व्यक्त गर्दै जनताले दिएको विश्वासलाई कायम राख्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले कञ्चनपुरको समग्र विकास, सुशासनको प्रवर्द्धन र पारदर्शितामूलक शासन प्रणाली स्थापना गर्ने दिशामा आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार कञ्चनपुरको यो परिणामले सुदूरपश्चिम प्रदेशको समग्र राजनीतिक समीकरणमा समेत प्रभाव पार्ने सम्भावना देखिएको छ। आगामी दिनमा स्थानीय तथा प्रदेशस्तरको राजनीतिमा समेत यसको असर देखिन सक्ने उनीहरूको भनाइ छ।
यसपटकको निर्वाचन परिणामले कञ्चनपुरका मतदाताले परिवर्तनको पक्षमा स्पष्ट सन्देश दिएको देखिएको छ। नयाँ राजनीतिक शक्तिप्रति देखिएको भरोसाले जिल्लाको आगामी राजनीतिक यात्रा कस्तो हुने भन्ने विषयलाई अझ चासोको केन्द्रमा ल्याएको छ।