बेलौरी, कञ्चनपुर —
रोजगारीका लागि विदेश गएका कञ्चनपुरका एक युवक दुवै मृगौला फेल भएपछि अस्पतालको शय्यामा जीवन–मरणको दोसाँधमा पुगेका छन्।
बेलौरी नगरपालिका–५, शोभातालस्थित मुक्तकमैया बस्तीका २४ वर्षीय शिवराज चौधरी गम्भीर बिरामी परेपछि हाल उपचारका लागि आर्थिक सहयोगको पर्खाइमा छन्।
परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर शिवराज २०८० साल माघ २७ गते रोजगारीका लागि साउदी अरब गएका थिए। तर, विदेश पुगेको केही समयमै उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको जनाइएको छ।
स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले दुवै मृगौलाले काम गर्न छोडेको पुष्टि गरेपछि उनी उपचारका लागि गत २०८२ मङ्सिर २३ गते नेपाल फर्किएका हुन्।
परिवारको एकमात्र सहारा संकटमा
शिवराजको परिवार अत्यन्तै विपन्न अवस्थाबाट गुज्रिरहेको छ। घरमा वृद्ध आमा–बुबा र एक अपाङ्गता भएका दाजु रहेका छन्। परिवारको आर्थिक जिम्मेवारी बोक्ने एकमात्र सहारा शिवराज नै थिए। तर, परिवारको मुख्य आधार नै गम्भीर बिरामी परेपछि अहिले उनको घरपरिवार ठूलो संकटमा परेको छ।
उपचारमा आर्थिक अभाव
हाल शिवराजको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा नियमित डायलासिस भइरहेको स्थानीय जनप्रतिनिधि कृपाराम चौधरीले जानकारी दिएका छन्।
चिकित्सकहरूका अनुसार उनको जीवन बचाउन मृगौला प्रत्यारोपण वा दीर्घकालीन उपचारका लागि ठूलो आर्थिक खर्च आवश्यक पर्ने देखिएको छ।
तर, कमजोर आर्थिक अवस्थाका कारण उपचार प्रक्रिया अगाडि बढाउन परिवारलाई निकै कठिनाइ भइरहेको छ।
बिरामीका बुबा जङ्ग बहादुर चौधरीले आफ्नो छोराको जीवन जोगाइदिन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग भावुक अपिल गरेका छन्। उनले भने, "छोरा परिवारको भविष्य उज्यालो बनाउन विदेश गएको थियो।
तर आज ऊ आफैं गम्भीर बिरामी भएर अस्पतालको शय्यामा छटपटाइरहेको छ। हाम्रो परिवारको एउटै सहारा हो। भगवान् बनेर कसैले सहयोग गरिदिए मेरो छोरा बच्ने आशा छ।"
सहयोगका लागि अपिल
शिवराजको जीवन बचाउन परिवार तथा स्थानीय युवाहरूले ‘शिवराज चौधरी बचाउ अभियान’ सञ्चालन गरेका छन्। सहयोग गर्न चाहने महानुभावहरूले बिरामीका बुबा जङ्ग बहादुर चौधरीको नाममा रहेको बैंक खातामा वा उपलब्ध QR Code मार्फत आर्थिक सहयोग गर्न सक्नुहुनेछ।

सहयोगका लागि आधिकारिक विवरण
खातावालाको नाम: जङ्ग बहादुर चौधरी (बिरामीको बुबा)
बैंकको नाम: नबिल बैंक (Nabil Bank)
खाता नम्बर: 23110017505148
स्थानीय जनप्रतिनिधि कृपाराम सम्पर्क: [9806435585]
“सेवा नै धर्म हो” अभियानकर्ताहरूले मानवीय संवेदनशीलताका आधारमा सक्दो सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा अपिल गरेका छन्।
