बेलाैरी, कञ्चनपुर —
कञ्चनपुर क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद दीपकराज बोहरा शुक्लाफाँटा आरक्ष पीडित परिवारको सहारा बनेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापित भएका परिवारकाे पुनःस्थापनाका लागि पहल गर्न विश्वास व्यक्त गरेसंगै बाेहरा सहारा बनेका हुन्।
लामो समयदेखि पुनर्स्थापनाकाे माग राख्दै अनशन बसेका परिवारले उहाँको उपस्थितिमा अनशन समेत ताेडेका छन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट नवनिर्वाचित सांसद बोहराले विस्थापित परिवारको स्थायी बसोबासको समस्या समाधानका लागि पहल गर्ने विश्वास जनाएपछि पीडित परिवारले अनशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
बोहराले विस्थापितहरूको समस्या वर्षौंदेखि समाधान हुन नसकेको उल्लेख गर्दै यस विषयलाई प्राथमिकताका साथ उठाउने बताए।
“विस्थापित परिवारका समस्या धेरै पहिल्यै समाधान हुनुपर्ने थियो, तर विभिन्न कारणले अझै समाधान हुन सकेको छैन,” उनले भने, “विगतमा गठन भएका आयोगहरूको प्रतिवेदन अध्ययन गर्दै सरोकारवाला निकायसँग छलफल गरी पुनःस्थापनाका लागि ठोस पहल गर्नेछु।”
सडक छेउमा बसेर लामो समयदेखि अनशन गरिरहेकाले दुर्घटनाको जोखिमसमेत रहेको भन्दै बोहराले अनशन तोड्न आग्रह गरेका थिए। त्यसपछि आन्दोलनरत परिवारले सांसदको प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै अनशन अन्त्य गरेका हुन्।
अनशन तोड्ने क्रममा आरक्ष विस्थापित सङ्घर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले नवनिर्वाचित सांसद बोहरामाथि विश्वास गरेर आन्दोलन स्थगित गरिएको बताए।
“हामीले विश्वास गरेर तपाईंलाई संसद्मा पठाएका छौँ,” उनले भने, “विगतमा जस्तै आश्वासनमै सीमित नहोस् भन्ने हाम्रो अपेक्षा छ।”
भट्टका अनुसार शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित परिवारको समस्या समाधानका लागि हालसम्म ३४ वटा आयोग गठन गरिए पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।
पुनःस्थापनाको विषयमा कहिले वन ऐनको अवरोध देखाइएको त कहिले सरकारको अस्थिरतालाई कारण बनाइँदै आएको उनले बताए।
विस्थापित हुनुअघि आफूहरू पाँच बिघासम्म जमिनका मालिक रहेको स्मरण गर्दै अहिले घरबारविहीन अवस्थासम्म पुग्नुपरेको उनले दुखेसो पोखेका छन्।
विस्थापित परिवारका अनुसार हालसम्म दुई हजार ४ सय ७३ परिवार विभिन्न अस्थायी शिविरमा बसोबास गर्दै आएका छन्।
स्थायी पुनःस्थापनाको टुंगो नलाग्दा उनीहरू वर्षौंदेखि कठिन परिस्थितिमा जीवनयापन गर्न बाध्य भएका छन्।