कञ्चनपुर : मालुबेलामा ११ दिवसीय ‘विराट महायज्ञ’

होमपेज / मुख्य समाचार / समाचार /
५४ फिटको शिव–पार्वती मूर्ति र गुरुकुल निर्माण मुख्य लक्ष्य
कञ्चनपुर : मालुबेलामा ११ दिवसीय ‘विराट महायज्ञ’
  • शीतल भट्ट
  • ४ चैत २०८२ (८ घण्टा अघि)
  • ७९

मालुबेला / कञ्चनपुर —

सुदूरपश्चिम प्रदेशको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको प्राचीन सिद्धपीठ श्री ग्वासी समैजी धाम मालुबेलामा भव्य धार्मिक अनुष्ठान आयोजना हुने भएको छ।

‘विश्व कल्याण, सुख–शान्ति र समृद्धि’को उच्च लक्ष्यसहित श्री शिव महापुराण एवं महारुद्र विराट महायज्ञ सञ्चालन गर्न लागिएको हो।

महायज्ञको समयावधि र विशेषता

आयोजक समितिका अनुसार नवरात्रिको शुभ अवसर पारेर यहीँ चैत्र ६ गतेदेखि सुरु हुने महायज्ञ चैत्र १६ गतेसम्म सञ्चालन हुनेछ।,

११ दिनसम्म निरन्तर सञ्चालन हुने यस धार्मिक अनुष्ठानमा प्रख्यात व्यासाचार्य जय प्रसाद जोशीबाट संगीतमय शैलीमा शिव महापुराण कथा वाचन गरिने जनाइएको छ।

महायज्ञ अवधिभर राष्ट्रियस्तरका कलाकारहरूको सहभागितामा भजन–कीर्तन, धार्मिक प्रवचन, तथा भगवानका विभिन्न स्वरूपहरूको आकर्षक झाँकी प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ।

यसले धार्मिक वातावरणलाई थप आध्यात्मिक र आकर्षक बनाउने अपेक्षा गरिएको समेत आयोजकले जनाएको छ।

धार्मिक अनुष्ठानसँगै विकासकाे लक्ष्य

यो महायज्ञ केवल धार्मिक कर्मकाण्डमा सीमित नभई दीर्घकालीन सामाजिक, शैक्षिक तथा पर्यटन प्रवर्द्धनका उद्देश्यसँग जोडिएको छ। आयोजक समितिले निम्न प्रमुख लक्ष्यहरू अघि सारेको छः

  • वैदिक शिक्षा र संस्कारको संरक्षण तथा प्रवर्द्धनका लागि गुरुकुल पाठशाला स्थापना
  • हिमालय पर्वतको प्रतिरूपसहित ५४ फिट अग्लो शिव–पार्वतीको भव्य मूर्ति निर्माण
  • ग्वासी समैजी धामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने

यस्तै आयोजकले यी योजनाहरूले स्थानीयस्तरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्दै आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

तयारी तीव्र, सहभागिताका लागि आह्वान

महायज्ञलाई भव्य र व्यवस्थित बनाउन ‘महायज्ञ आयोजक मूल समिति’ले तयारीलाई तीव्र बनाएको जनाएको छ। समितिका अध्यक्ष तथा सचिव शिवराज भट्ट (श्याम)का अनुसार विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ भने आवश्यक पूर्वाधार निर्माण, व्यवस्थापन तथा प्रचार–प्रसार कार्य तीव्र गतिमा अघि बढाइएको छ।

महायज्ञको संयोजन हेमराज बोहराले गरिरहनुभएको छ भने सह–संयोजक धर्म ब. सिंह र संरक्षक विश्वेश्वर प्रसाद भट्ट रहेका छन्।

“धर्मो रक्षति रक्षितः” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजन, धर्मप्रेमी तथा सहयोगीहरूलाई तन, मन र धनले सहभागी भई महायज्ञ सफल बनाउन हार्दिक आह्वान गरेका छन्।

भने, कञ्चनपुर क्षेत्र नम्बर २ बाट नंव निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक राज बाेहराले महायज्ञ पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् । 

धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

सुदूरपश्चिमको मौलिक संस्कृति, धार्मिक आस्था र सामाजिक एकतालाई सुदृढ बनाउने विश्वास गरिएको यस विराट महायज्ञमा हजारौँ भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

साथै, यस कार्यक्रमले कञ्चनपुर क्षेत्र २ लाई धार्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

अन्तिम अध्यावधिक: ४ चैत २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस