कैलाली -
सशस्त्र प्रहरी बल नेपालले कैलालीको खक्रौलास्थित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेल सहितका कर्मचारीलाई प्रधान कार्यालय झिकाएको छ ।
चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयको छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीको लागि प्रधान कार्यालय झिकाइएको बताइएको छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले घटनामा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेको र गुल्मपतिमाथि हातपातको प्रयास भएको बताए ।
त्यत्रो घटना हुँदा समेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो ? भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर छानबिन सुरु गरेको पनि प्रवक्ता भट्टले जानकारी दिए ।
तस्करी रोक्न विगतदेखि नै कार्य गर्दै आएका डीएसपी पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्याएको प्रधान कार्यालयको ठहर छ ।
यसअघि उक्त घटनाका विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं ४३ रिजर्भ गण वनबेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक(एसपी) अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।
घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ ।
सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको प्रधान कार्यालयले जनाएको छ ।