देशकै प्रमुख व्यापारिक नाका वीरगंज भन्सार कार्यालयले सीमा नाकाबाट भित्रिने सामानमा कडाइ गरेको छ । सशस्त्र प्रहरीले माईकिङ्ग गर्दै भन्सार कार्यालय भएर १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न लागेको छ ।
भन्सार महसुल ऐन, २०८१ अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामानको मूल्य १०० रुपैयाँ नाघेमा त्यसमा कर तिर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न सशस्त्र प्रहरी बल र भन्सार प्रशासनले संयुक्त रूपमा कडा निगरानी बढाएको हो ।
सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक शम्भु कटवालका अनुसार ऐनमा भएको व्यवस्था अनुसार नै कडाइ गरिएको हो । “हामीले कुनै नयाँ नियम लागू गरेका होइनौँ, विद्यमान कानुनलाई कार्यान्वयन मात्र गरेका हौँ ।”
सीमाबाट हुने अवैध कारोबार र राजस्व चुहावट रोक्न यो कदम आवश्यक रहेको भन्दै नयाँ सरकारले नियम कडा गरेको हो ।
भन्सार कार्यालय स्रोतका अनुसार पछिल्लो समय सानो–सानो मूल्यका सामानको नाममा ठूलो परिमाणमा वस्तु भित्र्याउने र त्यसबाट राजस्व छल्ने प्रवृत्ति बढ्दै गएकाले नियन्त्रण गर्न लागिएको हो ।
यता स्थानीय बासिन्दाले भने उक्त निर्णयले दैनिक जीवनमा प्रत्यक्ष असर परेको गुनासो गरेका छन् । भारतसँग खुला सीमा क्षेत्रका बासीबीच वर्षौंदेखि ‘रोटी–बेटी’ सम्बन्ध रहँदै आएको छ ।
दैनिक उपभोग्य वस्तु, साना किनमेल तथा पारिवारिक आवतजावतमा समेत सहजता रहँदै आएको अवस्थामा अहिलेको कडाइले समस्या थपिएको उनीहरूको भनाइ छ ।
स्थानीय व्यापारी तथा सर्वसाधारणले सानो रकमका सामानमा समेत कर तिर्नुपर्ने व्यवस्थाले गरिब तथा निम्न आय भएका नागरिकलाई बढी मार परेको बताएका छन् ।
दैनिक उपभोगका लागि ल्याइने तरकारी, किराना सामग्रीमा पनि रोक लगाइँदा जीवनयापन कठिन भएको स्थानीयको गुनासो छ ।