बेलाैरी, कञ्चनपुर —
बिहीबारदेखि बेलौरी नगरपालिका –७ वडा खेलकुद समितिको आयोजनामा सञ्चालित रात्रिकालीन पुरुष भेट्रान भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, अनुभवी भेट्रान खेलाडीहरूको पुनः सक्रियता तथा आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यका आयोजना गरिएको प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको हाे।
कूल १२ टिमको सहभागिता रहेको प्रतियोगितामा आयोजक “A” ले उत्कृष्ट समन्वय र आक्रामक खेल प्रदर्शन गर्दै लगातार दुई सेट निकालेपछि उपाधि हात पारेको हाे।
‘बेस्ट अफ थ्री’ प्रणालीमा सम्पन्न प्रतिस्पर्धामा धनगढी उपमहानगरपालिका–१२ को टिमले कडा प्रतिस्पर्धा गरे पनि उपविजेतामै सीमित रहनुपर्यो।
त्यसैगरी, आयोजक “B” टिमलाई पराजित गर्दै भीमदत्त नगरको भेट्रान टिमले तृतीय स्थान हासिल गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टिमलाई २५ हजार, उपविजेताले १५ हजार र तृतीय हुने टिमलाई ७ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
खेलप्रेमी शिक्षक तेजबहादुर चन्दका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
रात्रिकालीन समयमा आयोजना गरिएको प्रतियोगितामा पनि दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। खेल अवलोकन गरेका दर्शकहरूले प्रतियोगिता अत्यन्त रोचक, अनुशासित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रतिक्रिया दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवान सिंह विष्टले विजेता तथा सहभागी सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आयोजकको प्रशंसा गरे।
उनले वडा अध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा वडामा निरन्तर खेलकुद गतिविधि सञ्चालन भइरहेको उल्लेख गर्दै यसले युवामा सकारात्मक ऊर्जा विकास गर्नुका साथै सामाजिक एकता सुदृढ गर्न टेवा पुर्याएको बताए।
कार्यक्रमका विशिष्ट अतिथि प्रेम सिंह बोहराले यस्ता प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास र युवालाई स्वस्थ प्रतिस्पर्धातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेले खेलकुद क्षेत्रको दिगो विकासका लागि स्थानीय तह, क्लब र समुदायबीच सहकार्य आवश्यक रहेको औंल्याउँदै आगामी दिनमा अझ व्यवस्थित र स्तरिय प्रतियोगिता आयोजना गरिने जनाए।
वडा अध्यक्ष प्रकाश श्रेष्ठले विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रात्रिकालीन पुरुष भेट्रान भलिबल प्रतियोगितामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी, शुभेच्छुक तथा खेलप्रेमीहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई अझ प्रभावकारी र व्यापक बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।
फरक प्रसंगमा खेलप्रेमी शिक्षक तेजबहादुर चन्दले टाढा–टाढाबाट आएर प्रतियोगितामा सहभागी भई आयोजकलाई माया, साथ र हौसला प्रदान गर्ने सम्पूर्ण शुभेच्छुक तथा शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गरे।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, सामाजिक अगुवा, खेलाडी तथा खेलप्रेमी दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रति आकर्षण बढाउनुका साथै आपसी सद्भाव, सहकार्य र एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।