कञ्चनपुर, बेलाैरी ।
विश्व हिन्दु परिसद् नेपाल, बेलाैरी नगर समितिको आयोजनामा शनिबार सीता जयन्ती भव्यताका साथ मनाइएको छ।
धार्मिक आस्था, सांस्कृतिक महत्व तथा सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यका साथ कालिका मन्दिर प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा स्थानीय श्रद्धालु, बुद्धिजीवी, समाजसेवी तथा बालकन्याहरूको उल्लेख्य सहभागिता रहेको थियो।भने, देवी सीताको पूजा–आराधना, धार्मिक अनुष्ठानहरू सञ्चालन गरिएको थियो।
कार्यक्रममा धार्मिक वक्ताहरूले सीता माताको जीवन आदर्श, त्याग, सहनशीलता र नैतिक मूल्यबारे चर्चा गर्दै आजको समाजमा उक्त शिक्षाहरूको सान्दर्भिकता झनै बढेको बताएका छन् ।
कालिका मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्तले धार्मिक पर्वहरूलाई केवल औपचारिकतामा सीमित नगरी सामाजिक सद्भाव र नैतिक चेतना अभिवृद्धि गर्ने माध्यमका रूपमा उपयोग गरिरहेको बताए।
यस अवसरमा नगर समितिका पदाधिकारी विजया लक्ष्मी श्रेष्ठले सीता जयन्तीको महत्वबारे प्रकाश पार्दै आगामी दिनहरूमा यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई अझ व्यवस्थित र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा सहभागी नाैँ कन्याहरुलाई प्रसाद वितरण गर्नुका साथै आपसी शुभकामना आदान–प्रदान गरिएको स्थानीय श्रद्धालु भक्तजन तथा समाजसेवी गाेविन्द सापकोटाले जनाए।