बेलौरी : निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, ५० जना लाभान्वित

होमपेज / समाचार / स्वास्थ्य/शिक्षा /
समयमै रोगको पहिचान गर्न आवश्यक : डा. राेकाया
बेलौरी : निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, ५० जना लाभान्वित
  • शीतल भट्ट
  • १२ बैशाख २०८३ (३ महिना अघि)
  • ५४७

बेलौरी, कञ्चनपुर —

शनिबार कञ्चनपुरको बेलौरीमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ। 

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर “स्वस्थ नारी पहल” अभियान अन्तर्गत सञ्चालन गरेको एकदिने शिविर सम्पन्न भएको हाे।

उक्त स्वास्थ्य शिविरमा कुल ५० जना महिलाहरूले सेवा लिएकाे आयाेजकले जनाएको छ। प्राप्त विवरणअनुसार २३ जनाको VIA परीक्षण (पाठेघरको मुखको क्यान्सर जाँच) गरिएको, १ जनामा पाठेघर खसेको समस्या (Prolapse) पहिचान भएको, १ जनामा पोलिप्स (Polyps) देखिएको तथा २५ जनाले सामान्य स्वास्थ्य जाँच र परामर्श सेवा लिएका छन्।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त शिविरमा नेपाल परिवार नियोजन संघ (FPAN), कञ्चनपुर शाखाले प्राविधिक सहयोग गरेको हाे।

बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा मेडिकल अधिकृत डा. गोविन्द रोकाया र स्त्री रोग विशेषज्ञ डा. वसन्त राज जोशी सहितको स्वास्थ्यकर्मी टोलीले स्थानीय महिलाहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेका थिए।

कार्यक्रमको व्यवस्थापनमा नेपाल परिवार नियोजन संघका लेखा अधिकृत उद्धव देव भट्ट तथा ग्लोबल आइएमई बैंकका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मेडिकल अधिकृत डा. गोविन्द रोकायाले महिलाहरूमा प्रजनन् स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्न र समयमै रोगको पहिचान गर्न यस्ता शिविरहरू अत्यन्त प्रभावकारी हुने बताए।

त्यसैगरी नेपाल परिवार नियोजन संघ, कञ्चनपुर शाखाका लेखा अधिकृत उद्धव देव भट्टले सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको क्षेत्रमा संघले निरन्तर काम गर्दै आएको उल्लेख गर्दै बैंकसँगको सहकार्यले विपन्न समुदायका महिलाहरूलाई प्रत्यक्ष लाभ पुगेको बताए।

जिल्ला स्वास्थ्य कार्यालय तथा बेलौरी नगरपालिकाको समन्वयमा सम्पन्न उक्त शिविरमा जटिल स्वास्थ्य समस्या देखिएका बिरामीहरूलाई थप उपचारका लागि विशेषज्ञ अस्पतालमा प्रेषण गरिएको जनाइएको छ।

ग्लोबल आइएमई बैंकले आफ्नो स्थापना दिवसको अवसरमा “सबैका लागि बैंक” भन्ने नारालाई आत्मसात गर्दै देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

बेलौरीमा सम्पन्न यस स्वास्थ्य शिविरप्रति स्थानीय सेवाग्राही महिला तथा सर्वसाधारणले सकारात्मक प्रतिक्रिया दिएका छन्।

अन्तिम अध्यावधिक: १२ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस