कञ्चनपुर : सांसद जनक सिंह धामीकाे अगुवाइमा बेलाैरी छोटी भन्सार अनुगमन

होमपेज / मुख्य समाचार / समाचार /
भन्सार व्यवस्थापनमा जाेड
कञ्चनपुर : सांसद जनक सिंह धामीकाे अगुवाइमा बेलाैरी छोटी भन्सार अनुगमन
  • शीतल भट्ट
  • १८ बैशाख २०८३ (१ महिना अघि)
  • ५९८

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालयको अवस्था, भौतिक पूर्वाधार तथा राजस्व संकलन प्रणालीबारे जानकारी लिन प्रतिनिधि सभा सदस्य माननीय जनक सिंह धामीकाे अगुवाइमा उच्चस्तरीय टोलीले शुक्रबार स्थलगत अनुगमन गरेको छ।

सीमावर्ती क्षेत्रको वस्तुस्थिति बुझ्दै भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको उक्त अनुगमनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य धामी सहित प्रमुख जिल्ला अधिकारी मदन कोइराला सहभागी थिए।

टोलीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडक बहादुर खत्री, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेत, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, कञ्चनपुर भन्सार कार्यालय प्रमुख लगायत स्थानीयहरुकाे उपस्थिति रहेको थियो।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बेलौरी छोटी भन्सारलाई हाल कैलाली भन्सार मातहतबाट कञ्चनपुर प्रशासन अन्तर्गत ल्याउन पहल गरिने बताउनुभयो। उहाँले भन्सारको स्तरोन्नतिका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।

प्रतिनिधि सभा सदस्य जनक सिंह धामीले बेलौरी नाकाको ऐतिहासिक महत्व उल्लेख गर्दै यसको विकासले क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने बताउनुभयो। उहाँले भन्सार स्तरोन्नतिका लागि आवश्यक पहल गर्न आफूले सम्बन्धित निकायमा आवाज उठाएको र अझै दबाब दिने विश्वास व्यक्त गर्नुभयो।

अनुगमनमा सहभागी सुरक्षा निकायका प्रमुखहरूले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि भन्सारको भौतिक पूर्वाधार सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

यसैबीच, स्थानीय समाजसेवी तथा बुद्धिजीवी केशवराज जोशीले बेलौरी नाकाको स्तरोन्नति अपरिहार्य रहेको बताउनुभयो। “बेलौरी नाका सुदूरपश्चिमकै महत्वपूर्ण व्यापारिक केन्द्र हो, यसको विकासले व्यापार विस्तारसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पुग्छ,” उहाँले भन्नुभयो।

स्थानीय राजनीतिक तथा सामाजिक अभियन्ताहरूले पनि बेलौरी नाकालाई प्राथमिकतामा राखी विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

अन्तिम अध्यावधिक: १८ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस