बेलौरी, कञ्चनपुर —
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय दोस्रो “चिया कप ब्याडमिन्टन प्रतियोगिता” यही वैशाख २६ र २७ गते हुने भएको छ।
बेलौरी चिया ग्रुपको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हाे।
बेलाैरी बजारस्थित बेलौरी ब्याडमिन्टन हलमा सञ्चालन हुने प्रतियोगितामा क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न पालिकाका खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगिताका संयोजक दिनेश कुँवरले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
उनले बेलौरी क्षेत्रमा पछिल्लो समय ब्याडमिन्टन खेलप्रति युवाहरूको आकर्षण बढ्दै गइरहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
त्यस्तै, बेलौरी चिया ग्रुपका कोषाध्यक्ष रजनीश भण्डारीले प्रतियोगितालाई सभ्य, अनुशासित तथा प्रतिस्पर्धात्मक ढंगले सम्पन्न गरिने जानकारी दिए।
भण्डारीले खेलकुदले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने भएकाले ग्रुपले सामाजिक तथा खेलकुदमूलक गतिविधिलाई निरन्तरता दिँदै आएको बताए। साथै उनले खेलप्रेमी तथा स्थानीयवासीलाई प्रतियोगितामा उपस्थित भई खेलाडीहरूको उत्साहवर्द्धन गर्न आग्रह गरे।
यसैगरी, ग्रुपका महासचिव अशोक पाण्डेयले बेलौरी चिया ग्रुपले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। पाण्डेयले ग्रुपका सदस्यहरूले आफ्नो जन्मदिन तथा वैवाहिक वर्षगाँठमा खर्च हुने केही रकम स्वस्फूर्त रूपमा संकलन गरेर विविध कार्यक्रम आयोजना गर्न लागिएको जनाए।
पाण्डेयका अनुसार यसअघि बेलौरीका वरिष्ठ समाजसेवी, उद्योगी व्यवसायी तथा इन्जिनियर दिपेन्द्र विष्टको जन्मदिनको अवसर पारेर ग्रुपले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको थियो।
यसपटक पनि समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित केही नयाँ गर्ने लक्ष्यका साथ खेल आयोजना गरिएको उनले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरे।
महासचिव पाण्डेयले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ तथा सकारात्मक सोचतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताए।
आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको प्रथम पुरस्कार ३५ हजार रुपैयाँ, द्वितीय पुरस्कार २५ हजार रुपैयाँ तथा तृतीय पुरस्कार १५ हजार रुपैयाँ रहेको छ।
बेलौरी क्षेत्रमा पछिल्लो समय खेलकुद गतिविधि बढ्दै गइरहेका बेला आयोजना हुन लागेको उक्त प्रतियोगिताले स्थानीय खेलकुद विकाससँगै युवाहरूबीच आपसी सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।