बेलौरी, कञ्चनपुर —
कञ्चनपुरको बेलौरीमा स्थानीय खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यसहित “दोस्रो चिया कप” ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।
प्रतियोगितासँगै नगरलाई स्वच्छ, हराभरा र सौन्दर्यपूर्ण बनाउने लक्ष्यका साथ “बेलौरी हरियाली अभियान २०८३” समेत घोषणा गरिएको हाे।
बेलौरी चिया ग्रुपको आयोजनामा सञ्चालन भएको निर्वाचन क्षेत्र नम्बर १ स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन बेलौरी नगर प्रमुख पोतीलाल चौधरीले गरेका थिए।
बेलौरी ब्याडमिन्टन हलमा सुरु भएको प्रतियोगितामा क्षेत्रभरिका २४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। भने, उक्त प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।
कार्यक्रमका सभाध्यक्ष तथा बेलौरी चिया ग्रुपका अध्यक्ष दिनेश कुँवरले खेलकुदलाई युवाको ऊर्जा, अनुशासन र नेतृत्व विकाससँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
उनले स्थानीय स्तरमा रहेका खेल प्रतिभालाई उजागर गर्दै उनीहरूलाई थप अवसर र प्रेरणा प्रदान गर्नु उद्देश्य रहेको जनाए।
बेलौरी नगर उपप्रमुख जोगराम चौधरीले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ अघि बढाउने महत्वपूर्ण माध्यम भएको बताउँदै यस्ता प्रतियोगिताले सामाजिक एकता र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने धारणा राखे। उनले नगरपालिकाले खेलकुद विकासलाई निरन्तर प्राथमिकतामा राखेको उल्लेख गरे।
यस्तै, कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोतीलाल चौधरीले खेलकुदलाई स्वस्थ समाज निर्माणको आधारका रूपमा व्याख्या गर्दै अनुशासित, सक्षम र आत्मविश्वासी युवा पुस्ता निर्माणमा यस्ता गतिविधिको महत्वपूर्ण भूमिका रहने बताए।
उनले खेलकुद पूर्वाधार विकास र विस्तारमा तीन तहका सरकारकाे निरन्तर सहयोग रही आएको जनाए।
यसै अवसरमा अध्यक्ष दिनेश कुँवरले “बेलौरी हरियाली अभियान २०८३” घोषणा गर्दै नगरलाई स्वच्छ, हराभरा र आकर्षक बनाउने उद्देश्यसहित अभियान सुरु गरिएको बताए।
उनले बजार क्षेत्रमा प्रत्येक घरअगाडि कम्तीमा एउटा फूलको गमला राख्न आग्रह गर्दै यसले बेलाैरी बजारको सौन्दर्यसँगै वातावरणीय सुधारमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गरे।
अध्यक्ष कुँवरले स्वयं गमला राख्न नसक्ने नगरवासीका लागि कम्तीमा एक गमला, मल तथा फूल संरक्षण गरी सहयोग गर्न सकिने जनाउँदै सबैलाई अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई रु. २५ हजार र तृतीय हुने टिमलाई रु. १५ हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ।
स्थानीय उद्योगी, व्यवसायी, कर्मचारी तथा समाजसेवीहरुकाे समूह "बेलाैरी चिया ग्रुप"ले स्वस्फूर्त रुपमा रकम संकलन गरि उक्त प्रतियोगिता तथा हरियाली अभियान सुरु गरेको जनाएको छ। चाैधरी खबर, बेलाैरी अनलाइन र सुदूर सञ्चार मिडिया पार्टनर रहेको कार्यक्रमको सञ्चालन बेलाैरी चिया ग्रुपका महासचिव अशोक पाण्डेयले गरेका थिए।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी खेलप्रेमी, सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् सराेकारवालाहरुकाे सहभागीता रहेको थियो।