बेलौरी : ‘दोस्रो चिया कप’ ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, टिम निसर्ग च्याम्पियन

होमपेज / खेलकुद / विविध / समाचार /
बेलौरी : ‘दोस्रो चिया कप’ ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, टिम निसर्ग च्याम्पियन
  • चन्द्रिका चौधरी
  • २७ बैशाख २०८३ (२ महिना अघि)
  • ७३७

बेलौरी, कञ्चनपुर —

कञ्चनपुरको बेलौरीमा जारी निर्वाचन क्षेत्र नम्बर १ स्तरीय ‘दोस्रो चिया कप’ ब्याडमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ।

बेलौरी चिया ग्रुपको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा निसर्ग हस्पिटलको टिम च्याम्पियन बनेको हो।प्रतियोगितामा निसर्ग हस्पिटलका तर्फबाट रजनीश भण्डारी र महेश भट्टको जोडी प्रथम भएको आयोजकले जनाएको छ।

त्यसैगरी, केयर टेकर हस्पिटल धनगढीका तर्फबाट पुष्कर सिंह बुडाल र किरन विष्टको टिमले द्वितीय स्थान हात परेका छन् भने शिव प्रसाद सुवेदी र सुरेश चौधरीले तृतीय स्थान हासिल गरेका हुन्।

लगातार दुई सेट लिएर प्रथम स्थान हासिल गरेका भण्डारी र भट्टकाे टिमले नगद रु. ३५ हजार, द्वितीय टिमले रु. २५ हजार तथा तृतीय टिमले रु. १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

बेलौरी ब्याडमिन्टन हलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा क्षेत्रभरिका २४ टिमको सहभागिता रहेको थियो।

स्थानीय खेल प्रतिभाको पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि बेलौरी नगर उपप्रमुख जोगराम चौधरी रहेका थिए। कार्यक्रममा बोल्दै उनले खेलकुदले युवालाई अनुशासित र सकारात्मक बनाउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले सामाजिक सद्भाव र स्वस्थ जीवनशैली प्रवर्द्धनमा टेवा पुग्ने बताए।

यसअघि शनिबार प्रतियोगिताको उद्घाटन नगर प्रमुख पोतीलाल चौधरीले गरेका थिए।

कार्यक्रममा बेलौरी चिया ग्रुपका अध्यक्ष दिनेश कुँवरले खेलकुदसँगै बेलाैरी नगरलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले “बेलौरी हरियाली अभियान २०८३” समेत अघि बढाइएको जनाए। 

स्थानीय उद्योगी, व्यवसायी, कर्मचारी तथा समाजसेवीहरूको सक्रिय सहभागीतामा सम्पन्न प्रतियोगितामा जनप्रतिनिधि, खेलप्रेमी, सञ्चारकर्मी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भने, कार्यक्रमकाे सञ्चालन चिया ग्रुपका महासचिव अशोक पाण्डेले गरेका थिए ।

अन्तिम अध्यावधिक: २७ बैशाख २०८३
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस